सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्पेनबाट नेपाली युवाकाे खुल्ला पत्रः स्पेनले जस्ताे नेपाल सरकारले जात्रा हेरेर नबसाेस्

शनिबारदेखि स्पेनको भ्यालेन्सियामा परिवारका साथ घरमै छौं। दुई छोराछोरीसहित हामी चार जना छौं। आजदेखि महत्वपूर्ण काम नपरी बाहिर ननिस्कन सरकारले उर्दी जारी गरेको छ। खानेकुरा, औषधि लिन वा बैंक जानु पर्‍यो भने मात्रै बाहिर निस्कन पाइन्छ।

आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ। आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड गर्ने सरकारले जनाएको छ।

रेस्टुरेन्ट, डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ। खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ। चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ।

यहाँ पहिले नै सतर्कता नअपनाउँदा कोरोना भाइरसले महामारीको रुप लिएको छ। बल्ल मानिसले मास्क र पञ्जा प्रयोग गर्न थालेका छन्। स्पेन सरकारले समयमा उचित कदम चाल्न नपाई महामारी बन्न पुग्यो।

सोमबार आइतबार भन्दा दोब्बर मानिसको मृत्यु भएको छ। अहिले मर्नेको संख्या ३ सय २९ पुगेको छ। ९ हजार १ सय ९१ जना संक्रमित भएका छन्। ५ सय ४० जना उपचारपछि घर फर्केका छन्। इटली, फ्रान्सपछि कोरोना भाइरसको कारण सबैभन्दा बढी स्पेन प्रभावित बनेको छ।

भ्यालेन्सिया र एटलान्टाको फुटबल टोली च्यापियन्स लिग खेल्न संक्रमणबाट अति प्रभावित उत्तर इटली पुगेको थियो। संक्रमण हुन्छ भनेर दर्शकबिनै खेलाएको भएपनि हजारौँ मानिस टिमको समर्थकमा स्टेडियम बाहिर भेला भएका थिए। यूरोपमा इटलीबाट फर्केकामा कुनै परीक्षण गरिएन।

स्पेनमा उच्च सरकारी अधिकारीहरु समेत संक्रमित भएका छन्। जुलुसमा सहभागी भएका, पार्टीको सम्मेलनमा सहभागी भएका नेताहरु पनि कोभिड १९ बाट संक्रमित भएका छन्।

स्पेनको प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचार छ। उनीहरु सबै आठ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए।

त्यसैगरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल पनि संक्रमित भएका छन्। बोक्सको सम्मेलनपछि उनीहरुमा संक्रमण देखिएको हो।

विभिन्न राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरु पनि संक्रमित भएका छन्। कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री मड्रिडका मुख्यमन्त्री संक्रमित भएका छन्।

म बस्ने सहर राजधानी मड्रिड र अर्को ठूलो सहर बार्सिलोनाको बीचमा पर्छ। दुवै स्थानबाट साढे तीन सय किलोमिटर टाढा रहेको भ्यालेन्सियामा करिब २ सय जति नेपाली छौं। यो सहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्ति नेपाल घुमेर आएको भनिएको छ। तर उनको मृत्युको बारेमा लामो समयसम्म सूचना समेत लुकाइयो।

भ्यालेन्सिया पनि काठमाडौं जस्तै जात्रैजात्रा हुने सहर हो। यहाँ मार्च १ देखि १९ सम्म ठूलो पर्व हुन्छ। फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ। बाटोमा सेल रोटी जस्तो खानेकुरा बनाएर बेचिन्छ। प्रत्येक चोकमा मूर्ति बनाउने हुन्छ। दिउँसो २ बजे पटका पड्काइन्छ। हाम्रोमा घोडेजात्रा जस्तै मान्छेमाथि मान्छे भएर हेर्छन्।

यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन्। मार्च १० आएर मात्रै यो पर्व रोकियो। त्यसबाट पक्कै पनि धेरै मानिसमा संक्रमण फैलिएको छ।

इटलीबाट जति पनि पर्यटक आए, तिनको कुनै जाँच भएको थिएन। दुनियाँले संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेन रमिता गरेर बसेको थियो। त्यसको परिणाम अहिले देखिँदै छ।

समाचार हेर्दा नेपाल पनि अहिले ढुक्कै भएर बसेको जस्तो देखिन्छ। तर लापरवाही गरे स्पेन जस्तै समस्यामा नपर्ला भन्न सकिन्न।

भ्यालेन्सियामा २ सय नेपाली भएपनि पूरै स्पेनमा १० हजार नेपाली छौं। सबैभन्दा बढी बार्सिलोनामा छन्। त्यसपछि मड्रिडमा छन्। बार्सिलोना र मड्रिडमा भएको साथीहरुसँग सम्पर्क गर्दा उनीहरु पनि डराएका छन्।

स्पेनको नेपाली दूतावासले सूचना निकालेको छ। दूतावासले गर्नुपर्ने आवश्यक काम भए काजगातहरु हुलाकबाट पठाउन भनेको छ। त्यस बाहेक अन्य कुनै प्रकारका काम गरेको छैन।

स्पेनमा रहेका विकासभक्त खरेल

नेपाल खबरका लागि विकासभक्त खरेलले लेखेकाे पत्र साभार

भर्खरै

सम्बन्धित खबर

Language »