काठमाडौं । रौतहट जिल्ला ईशनाथ नगरपालिका-९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् ।
ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचा
मा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई ती किशोर र रोशनले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।