सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृषि तालिमको ८ औ ब्याचको दीक्षान्त कार्यक्रम सम्पन्न

ललितपुर / सक्षमता विकास समाज नेपाल सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने एक गैर- नाफामूलक तथा गैर- सरकारी सामाजिक संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने क्रममा उनीहरूलाई आत्म निर्भर बनाउने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि मौसमी तथा बेमौसमी आर्गानिक तरकारी र कुखुरा पालन सम्बन्धी परियोजना सञ्चालन गरेर कृषि सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

यसै क्रममा यही असार २७ गते बिहीबारका दिन ललितपुरको सुन कोठीमा आर्गानीक तरकारी र कुखुरा पालन सम्बन्धी तालिमको ८ औ ब्याचको दीक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । यस दीक्षान्त कार्यक्रमको सञ्चालन यसै संस्थाकी कोष निर्देशक निर्मला ज्ञवालीले गर्नु भएको थियो ।

यसै क्रममा उहाँले सक्षमता विकास समाज नेपाल वि .सं २०७१ सालमा स्थापना भएर विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उन्नति तथा सामाजिक कारणले पिछडिएका अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता विकासका लागि काम गर्दै आएको बताउनु भयो । साथै उहाँले यस संस्थाले ७ वटै प्रदेशमा सेवा पुराएको भन्दै नेपाल सरकारबाट यस्ता कार्यहरूमा सामान्य सहयोग भएता पनि आवश्यक र पर्याप्त सहयोग नभएको गुनासो पनि गर्नु भयो ।

कोष निर्देशक निर्मला ज्ञवालीले सबै निकायहरूले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिनुको विविधता अनुसार सबै निकायहरू पहुँचयुक्त बनाइनु पर्ने भन्दै यस संस्था मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई आगामी दिनमा पनि आय- आर्जन गरी आत्म निर्भर बनाउन कृषि सम्बन्धी यस्ता तालिमहरू सञ्चालन गरिने कुरामा जोड दिनु भयो ।

त्यसै गरी यस सक्षमता विकास समाज नेपालका अध्यक्ष रवीन्द्रराज (RR) पाण्डेले कुनै पनि व्यक्तिले अपाङ्गतालाई कमजोरीको रूपमा लिन नहुने हामी सबै सक्षम छौ भन्दै विभिन्न जिल्लाबाट यस तालिममा सहभागी हुनु भएका प्रशिक्षार्थीहरूलाई यहाँ सिकेको सीपको सही उपयोग गर्नु आग्रह गर्नु भयो । साथै उहाँले स्थानीय तहमा समूह निर्माण गरेर उहाँ कृषि सम्बन्धी सिकेको सीपलाई अन्य व्यक्तिहरूलाई पनि सिकाएर स्थानीय निकायसँग बजेट माग गरी काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस दीक्षान्त कार्यक्रममा सक्षमता विकास समाज नेपालकी संस्थापक सदस्य जमुना सुवेदीले यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई कृषिमा अगाडी बढाउनका लागि, उनीहरूलाई आत्म निर्भर गराएर सहज जीवन यापनका लागि, अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा कृषि मार्फत पनि राम्रो आम्दानी गरी सक्षम हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको बताउनु भयो ।

साथै उहाँले कृषि सम्बन्धी तालिम लिनु भएका अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षेत्रमा गएर वडा, गाउँपालिका, नगरपालिकामा पनि यो तालिमको सही उपयोग गर्न आग्रह गर्नु भयो । यसै क्रममा ललितपुर महानगरपालिका वडा नं २७ की वडा सदस्य रामदेवी महर्जनले अपाङ्गता कमजोरी नभएको र उनीहरूलाई अवसर प्रदान गरिनु पर्ने भन्दै प्रशिक्षार्थीहरूलाई यस सीपको उपयोग गर्नु हुन आग्रह गर्नुका साथै स्वास्थ्य सेवा तथा यस्ता तालिमको प्रवर्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

त्यसै गरी यसै संस्थाकी साङ्केतिक भाषाकी दोभासे तथा तालिम प्रशिक्षक रमिता बुढा क्षेत्रीले यस तालिम ज्यादै प्रभावकारी रहेको र अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरू अनुकूलको वातावरणमा आधुनिक कृषि तालिम प्रदान गर्न सकिने र यो तालिम निकै प्रभावकारी भएको बताउनु भयो । सुर्खेतका प्रशिक्षार्थीहरू कविता वि .सी. र बुद्धिराम खत्रीले यस ३ महिनाको मौसमी तथा बेमौसमी आर्गानिक तरकारी र कुखुरा पालन सम्बन्धी तालिममा धेरै नयाँ कुराहरू, सीपहरू सिक्न पाएको र यसलाई आफ्नो क्षेत्रमा गएर सही उपयोग गर्ने भन्दै आयोजक समूहलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि मौसमी तथा बेमौसमी आर्गानिक तरकारी र कुखुरा पालन सम्बन्धीको ८ औ ब्याचको दीक्षान्त कार्यक्रममा भर्खरै बजारमा आएको सिक्का एल्बमको नशा छ, रगत भन्ने गीतको शब्द रचनाकार पूर्ण दृष्टिविहीन अपाङ्गता भएकी माध्यमिक शिक्षिका अस्मिता भट्टराई, यसै संस्थाकी साङ्केतिक भाषाकी दोभासे तथा तालिम प्रशिक्षक रमिता बुढा क्षेत्रीलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा सम्मानित हुनु भएकी पूर्ण दृष्टिविहीन अपाङ्गता भएकी माध्यमिक शिक्षिका अस्मिता भट्टराईले यस सक्षमता विकास समाज नेपाललाई आभार व्यक्त गर्दै सम्मान स्वरुप प्रदान गरिएका मायाको चिनोहरुहरुको सही सदुपयोग गर्ने बताउनु भयो । साथै यसै संस्थाकी साङ्केतिक भाषाकी दोभासे तथा तालिम प्रशिक्षक रमिता बुढा क्षेत्रीका बुवाको स्वास्थ्य उपचारका लागि कोष निर्देशक निर्मला ज्ञवाली र उहाँको ज्ञवाली परिवारको तर्फबाट रु १५ हजार रुपैयाँ नगद सहयोग पनि प्रदान गर्नु भयो भने अपाङ्गता अधिकारकर्मी स्वर्गीय रमेशलाल श्रेष्ठकी श्रीमती रोजिना श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

यस तालिममा जुम्ला, मुगु, सुर्खेत, हेटौडा तथा काठमाडौँका ८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई ३ महिना सम्म आवासको व्यवस्था सहित मौसमी तथा बेमौसमी आर्गानिक तरकारी र कुखुरा पालन सम्बन्धी तालिम प्रदान गरी दीक्षान्त कार्यक्रममा प्रत्येक व्यक्तिलाई रु २५ सय बराबरको कृषि सामाग्रीहरूका साथै बिउँ विजन पनि प्रदान गरी प्रमाणपत्र पनि उपलब्ध गराइएको थियो ।

कार्यक्रममा द रोज इन्टरनेशन फण्ड फर चिल्ड्रने (The Rose international Fund for Children ) ले सिक्का एल्बमको नशा छ, रगत भन्ने गीतको शब्द रचनाकार पूर्ण दृष्टिविहीन अपाङ्गता भएकी माध्यमिक शिक्षिका अस्मिता भट्टराई, यसै संस्थाकी साङ्केतिक भाषाकी दोभासे तथा तालिम प्रशिक्षक रमिता बुढा क्षेत्रीलाई मायाको चिनो स्वरुप विभिन्न उपहार र अपाङ्गता अधिकारकर्मी स्वर्गीय रमेशलाल श्रेष्ठकी श्रीमती रोजिना श्रेष्ठलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको र उहाँहरुलाई यसै समारोह विचमा उक्त सामाग्रीहरु प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »