काठमाडौं , निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आफूहरुको मागको सुनुवाइ नभएको भन्दै उनीहरुले कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । रुबी खानले निर्मला कुर्मीको न्यायका लागि आफूहरुले यस्तो कदम चालेको बताइन् । खानले आफूहरुको माग अदालतमा मुद्दा पुग्नुपर्ने रहेको बताइन् ।
निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ । गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । तर सरकारले यस विषयमा थप अनुसन्धान गरेको छैन ।