सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दिया मधुवनमा मानसिक स्वास्थ्य र मनोसामाजिक मनोपरामर्श तालिम सम्पन्न

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा किशोरीहरुकालागि मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।


बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान र भावनात्मक सहनशीलता प्रदान गर्दै उनीहरूमा आत्म–विश्वास र आत्म–सम्मान निर्माण गर्ने उदेश्यले सो तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा किशोरीहरुको आत्म–मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने गरि किशारीहरुलाई प्रशिक्षित गरिएको थियो ।
बर्दिया जिल्लाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २६ जना किशोरी क्लबका सदस्यहरू उक्त तालिममा सक्रिय रूपमा सहभागी हुनु भएको थियो ।
प्रशिक्षणको क्रममा प्रशिक्षक सुमन धिमालले मानसिक स्वास्थ्य, मनो–शिक्षा, तनाबका मनोवैज्ञानिक कारकहरू, डिप्रेसन (उदासीनता), कनभर्सन डिसअर्डर (रूपान्तरण विकार) आदिबारे अभिमुखीकरण गराउनु भएको थियो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षता सम्पन्न भएको तालिमको समापन समारोहमा क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको विशेष उपस्थिति रहेको थियो ।
समापनमा वरिष्ठ उपाध्यक्ष गुरुङले किशोरीहरूको अधिकारबारे प्रकाश पार्दै, आत्म–संरक्षण, मनो–शिक्षा, तनाव व्यवस्थापन, आत्म–विश्वास र आत्म–सम्मान निर्माण तथा सामना गर्ने रणनीतिहरू विकास गर्न प्रेरित गर्नु भएको थियो ।
तालिमका सहभागी किशोरी निशा चौधरीले आफ्नो अनुभव व्यक्त गर्दै सिकेका सीप र ज्ञानलाई जीवन र परिवारमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको सञ्चालन क्लबका कार्यक्रम अधिकृत ईश्वर बिकले गर्नुभएको थियो भने कार्यक्रम संयोजक गोविन्द प्रसाद लमिछाने, मुल्यांकन अधिकृत जनक राम थारु, फिल्ड कर्मचारी भगवती बिक, नग्मा मनीहार, राम थारु र मिनु थारुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »