-जयराम बिडारी
काठमाण्डौँ / अभिनव साहित्य समाजको चौबिसौं वार्षिकोत्सवका अवसरमा महिला कर्मचारी, शिक्षिका एवम् गृहिणीहरूको संस्मरण लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा समाजमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको प्रायोजन र समाजको आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रम वडा नम्बर ६ को सभाहलमा गरिएको थियो । नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्य, समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, वडाध्यक्ष नवराज लामाको विशेष आतिथ्य,समाजसेवी तथा साहित्यकार वसन्त रिजाल ,समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतको आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा स्रष्टा पदयात्रा नेपाल तथा घुम्ती कवि गोष्ठी नेपालकी आजीवन सदस्य,उदीयमान लेखिकाका रूपमा समेत सुपरिचित ‘अछुत जून’ कविता सङ्ग्रहकी सर्जक कवि रुबि सत्याल गृहिणी समूहमा प्रथम भएकी छिन् भने अर्की सशक्त लेखिका अम्बिका रिजाल द्वितीय तथा स्रष्टा पदयात्री साहित्यकार विष्णुकुमारी खनाल अधिकारी तृतीय र जमुना भट्टराई सुवेदी तथा शारदासिंह ठकुरीले प्रोत्साहन स्वरूप सान्त्वना पुरस्कार पाएका छन् ।
यसैगरी कर्मचारी समूहमा राष्ट्रिय खेलकूद परिषद्मा लेखा अधिकृतका रुपमा कार्यरत तथा स्रष्टा पदयात्रा नेपालकी सदस्य साहित्यकार विजया बस्नेत प्रथम,तिलस्मी भण्डारी द्वितीय, गङ्गा खड्का,तृतीय र रस्मिला खत्री तथा सरिता दुलाल घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । पुरस्कृत साहित्यकारहरूलाई खादा, प्रमाण पत्र एवम् नगद राशिद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले गोकर्णेश्वरमा अग्रज साहित्यकारहरु भैरव अर्याल, रमेश विकल लगायत थुप्रै सर्जकहरुको नेपाली साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै आजभोलि जनप्रतिनिधिको काँधमा साहित्यिक उन्नयनको जिम्मेवारी पनि थपिएको जनाए । उनले गोकर्णेश्वर नगरपालिकामा भाषा, कला र साहित्यको क्षेत्रमा यथेष्ट योगदान गर्नका खातिर साहित्य बुझेका जनप्रतिनिधि रहेको भनेर चिनाउने प्रयास गरिरहेको समेत बताए ।
साथै साहित्यलाई माया गर्दै योगदानमा आधारित सार्थक परिणाम दिने जनप्रतिनिधि पनि रहेको गौरवबोध हुनेगरी कार्यक्रममा सक्दो सहभागिता रहोस् भन्ने चाहनाले नगर साहित्य पुरस्कारको प्रतियोगिता गर्न लागेको बताए ।
यसैगरी विशेष अतिथि ६ नम्बर वडाका वडाध्यक्ष नवराज लामाले पुरस्कृत साहित्यकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै फुटबल खेलाडीलाई ‘फाइनल गेम’सम्म पुग्दै गर्दा खुसी लागेझैँ पुरस्कृत हुन नसकेका प्रतियोगीहरूलाई निराश नहुन अनुरोध गरे । उनले निकट भविष्यमा वडास्तरीय एउटा विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्न लागिएको समेत उद्घोष गरे ।
सो अवसरमा विशिष्ट अतिथि गोविन्द घिमिरे ‘वेदमणि’ले पुरस्कृत सबैलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गरे । उनले समाजसँग साहित्यिक गतिविधिका लागि यथेष्ट कोषको व्यवस्था नभए तापनि साहित्यको उन्नयनका लागि नगरपालिकासँग समन्वय गरी प्राप्त गर्ने गरेको रकमको समुचित व्यवस्थापन गरी साहित्यकारहरूको अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमले सर्जकहरूमा उत्साह वृद्धि हुने विचार व्यक्त गरे ।उनले साहित्यकारहरूलाई लेखन कर्ममा निरन्तरता दिन सुझाउँदै इतिहासमा अमरत्व प्राप्त हुने कृति सिर्जना गर्नमा यस्ता कार्यक्रमले यथेष्ट योगदान पुग्ने उल्लेख गरे । उनले अभिनव साहित्य समाजका शारदा पराजुली,परशुराम परासर, घनश्याम प्रसाईं, विमल अर्याल लगायतका अन्य थुप्रै पदाधिकारीहरूको सक्रियताको मुक्तकण्ठले प्रशंसा गरे ।
उक्त समारोहमा निर्णायक समितिका तर्फबाट संयोजक परशुराम परासरले महिला साहित्यिक जागरण अभियानअन्तर्गत संस्मरण लेखन प्रतियोगिताको मूल्याङ्कनका आधारहरूबारे प्रकाश पार्दै पुरस्कार वितरणका लागि शीर्षकीय गहनताका आधारमा प्रयुक्त शिल्प शैली र त्यसबाट समाज उपयोगी प्राप्त सन्देशको अत्युत्तम विषयवस्तुलाई प्रस्तुत गरिएका सन्दर्भ सामग्रीहरूलाई समेटिएर मूल्याङ्कन गरिएको बताए ।
उक्त अवसरमा समाजका सह-सचिव मेनका पोखरेल आचार्यले अभ्यागतहरूलाई स्वागत गरिन्। उनले पुरस्कृत हुने र सहभागी प्रतियोगिहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिन् । यसैगरी उक्त अवसरमा साहित्यकार तथा स्रष्टा पदयात्री गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’द्वारा ‘चिन्तनप्रवाह’ वाचन वृन्दा ढुङ्गानाद्वारा रचना वाचन गरिए ।
यसैक्रममा कार्यक्रमका अध्यक्ष विमल अर्यालद्वारा आफू पनि स्रष्टा पदयात्री रहेको र पदयात्रा समूहका तीन जना पदयात्री साहित्यकारहरूले पुरस्कृत हुनु गौरवबोधको विषय भएको बताए । कार्यक्रममा कल्पतरु मासिकका सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’ सुशील आचार्य,घनश्याम प्रसाईं ,राजेशमान केसी, बी.पी. इलामे लगायत पाँच दर्जन साहित्यकार, स्थानीय समाजसेवी, महिला तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
शारदा पराजुलीद्वारा सो कार्यक्रमको सहजीकरण गरिएको थियो ।
