सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारत सामान्य नभई सीमा नाका नखुल्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको हो । लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको हो ।

एक मन्त्रीका अनुसार भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द नै राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको छ । सीमा नाबाट लुकिछिपी कसैलाई पनि आवतजावत गर्न नदिन विशेष सतर्कता अपनाइएको र त्यसमा थप शक्ति केन्द्रित गरिने ती मन्त्रीले बताए ।

उनले भने ‘अहिलेको अवस्थामा हामीलाई सबैभन्दा ठूलो खतरा भारतबाट आउनेहरुबाटै देखियो । आएकाहरुको पहिचान गरेर सबैको परीक्षण गराउने क्रम चलिरहेको छ । सीमा नाका वैशाख १८ सम्म बन्द गर्ने भनिएको छ तर त्यो भनेको भारत सामान्य अवस्थामा नपुगेसम्म जारी रहन्छ ।’

मन्त्रिपरिषद बैठकमा काठमाडौंबाट राति राति हिँडेर विभिन्न गन्तव्यमा गइरहेकाहरुको बारेमा पनि छलफल भएको थियो । अब त्यसमा पनि सरकारले कडाइ गर्ने भएको छ । जो जहाँ पुगेका छन् उनीहरुलाई स्थानीय तहमार्फत खाने बस्ने व्यवस्था गर्ने र अरुलाई निस्कन नदिने रणनीति सरकारले बनाएको छ ।

हिँडेर घर जानेमा खानै नपाएका र लकडाउन लम्बिन्छ भनेर आत्तिएका दुवैखाले मान्छे रहेको सरकारको विश्लेषण छ । काठमाडौंमा राहत वितरणलाई अझ व्यवस्थित बनाउन खानै नपाउने अवस्थामा पुगेकाहरुको पहिचान वडामार्फत अझ मिहिन ढंगले गर्नुपर्ने देखिएको ती मन्त्रीले बताए ।

मन्त्रिपरिषदमा विभिन्न विकास परियोजनामा कार्यरत श्रमिकहरुलाई सुरक्षित ढंगले काममा लगाउने र त्यस्ता परियोजनाहरु चालु राख्ने बारेमा छलफल भएको छ । त्यसो गर्दा विकास आयोजना सञ्चालन पनि हुने र मजदुरको व्यवस्थापन पनि हुने सरकारको विश्लेषण छ । जलविद्युत, सडक निर्माणलगायतका ठूला परियोजनाका काम सुरक्षा विधि अपनाएर जारी राखिने भएको छ ।

मन्त्रिपरिषद बैठकमा काठमाडौंका सनसिटी अपार्टमेन्टमा संक्रमित भेटिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको छ ।

सनसिटी अपार्टमेन्ट सिल गरिसकेको र सबैलाई परीक्षण गरेर क्वारेन्टिनमा राखिने भएको छ । त्यस्तै परीक्षणको दायरा बढाउदै लगिएको र यसलाई अबका दुई सातामा हजारौंमा पुर्‍याउने सरकारको तयारी छ ।

सरकारले सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै ती क्षेत्रमा एक्सन टिम पठाउने भएको छ । स्वास्थ्यकर्मीको संख्या पनि त्यहाँ थपिने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »