सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गरिबी र असमानताले निम्त्याउने द्वन्द्व-नन्दलाल खरेल


आर्थिक असमानता र गरिबी नेपालको मात्र समस्या नभएर यो विश्वकै ठूलो व्यथाको रूपमा आएको छ । विश्वका गरिब मानिसहरू बाँच्नका लागि युद्ध झैं लडिरहेका छन् । गरिब भन्नाले व्यक्तिको आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थालाई बुझाउँछ । गरिबीलाई धेरै प्रकारले विश्लेषण र परिभाषित गर्ने गरिएको छ । गरिबीलाई दुई दृष्टिकोणबाट बुझ्न सकिन्छ– निरपेक्ष÷सापेक्ष । निरपेक्ष गरिबी जीवन निर्वाहका लागि न्यूनतम आवश्यकताहरू– गाँस, बास, र कपास (लुगा) को अभाव हो ।

सापेक्ष गरिबी भनेको समाजमा प्रचलित जीवनस्तरसँगको तुलना गर्दा व्यक्तिको अवस्थालाई चित्रण गर्छ जुन असमानताको प्रमुख सूचक हो । कम्युनिस्ट दृष्टिकोणबाट गरिबीलाई नियाल्दा यो केवल व्यक्तिगत असफलता होइन, एक संरचनागत एवं वर्गीय शोषणको परिणाम हो । यो दृष्टिकोणमा गरिबीको मूल कारण पुँजीवादी प्रणाली हो, जसमा सीमित धनी वर्गले श्रमिक वर्गको श्रम शोषण गरेर सम्पत्ति केन्द्रित गर्छन् । धनी वर्गले श्रमिकको श्रमको मूल्यभन्दा कम पारिश्रमिक दिएर मुनाफा बढाउँछ । श्रमिकको मेहनतबाट सिर्जित मूल्य मालिकले हडप्ने हँुदा, श्रमिक वर्ग सधैं गरिब रहन्छ । यस कुरामा धेरै हदसम्म सत्यता रहेको छ ।

धनी र गरिबीको गहिरिँदो खाडलले समाजमा आक्रोश, असन्तोष बढेपछि द्वन्द्व निम्त्याउँछ र सामाजिक अस्थिरता पनि बढ्ने गर्दछ। नेपालमा पनि यो समस्या गहिरिँदै गएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मानव विकासको गुणस्तरीय जीवनका लागि प्रतिव्यक्ति आय कम हुनु्, साक्षारता र शिक्षाको अवस्था सन्तोषजनक नहुनु, औसत आयु न्यून भएको अवस्थालाई गरिबीको रूपमा परिभाषित गरिएको छ । विश्वका करिब ७० करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन् । युनिसेफको तथ्यांकअनुसार प्रत्येक दिन २५ हजार मानिसको मृत्यु गरिबीको कारण हुन्छ भने झाडापखालाजस्ता सामान्य रोगबाट बर्सेनि १८ लाख मानिसले ज्यान गुमाइरहेका छन् ।

भोकमरी र रोगको कारण बर्सेनि लाखौं मानिसको मृत्यु विश्वमा हुने गर्दछ । सन् २०२४ सम्मका विश्वव्यापी तथ्यांकको आधारमा हेर्ने हो भने यसको संख्या डरलाग्दो छ । विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनअनुसार ८० लाख मानिसको मृत्यु भोकमरी र कुपोषणले हुने गर्दछ । त्यसमा पनि बालबालिका सबैभन्दा बढी प्रभावित छन् । पाँच वर्षमुनिका करिब ३० लाख बालबालिकाको मृत्यु प्रतिवर्ष कुपोषण÷भोकजन्य समस्याहरूबाट हुने अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब पाँच करोड मानिसको मृत्यु विभिन्न रोगका कारणले हुने गर्दछ ।

नेपालमा प्रत्यक्ष भोकको कारणले मृत्यु हुने दर औपचारिक रूपमा धेरै कम छ, तर कुपोषणको औसत दर उच्च छ । नेपाल स्वास्थ्य सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये २५ प्रतिशतभन्दा बढी कुपोषित छन् । भोकमरीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये दक्षिण एसिया एक हो । दक्षिण एसियामा पनि भारतामा मात्र हरेक वर्ष करिव ३० लाख मानिसको भोकमरी र कुपोषणबाट मृत्यु हुने गर्दछ ।

२१औं शताब्दी विज्ञान, प्रविधि र विकासको युग मानिन्छ तर यही विकासको युगमा विश्वका करोडौं मानिस रोगले छटपटाइरहेका छन् र करोडौं मानिस सामान्य उपचारको अभाव भएर ज्यान गुमाइरहेका छन् । भोकमरी केबल खाद्यको अभाव भएर मर्नुमात्र होइन, यो एउटा राजनीतिक, सांस्कृतिक एवं आर्थिक संरचनाको असफलता पनि हो । अफ्रिकादेखि दक्षिण एसियासम्म, द्वन्द्व प्रभावित राष्ट्रदेखि प्राकृतिक प्रकोपले ग्रस्त समुदायसम्म, भोकमरी मानव अधिकार हनन्को प्रतिनिधि चित्र हो । भोकमरी र रोग दुवै अशिक्षा, गरिबी, बेरोजगारी, असमानता र दुर्गम भौगोलिक अवस्थासँग जोडिएका छन् । धनी मुलुकहरूमा खाना फालिन्छ तर गरिब मूलुकहरूमा त्यसैका लागि लाखौंको जीवन मर्छ ।

माक्र्सवादी अर्थात् कम्युनिस्ट आँखाबाट हेर्दा गरिबी कुनै प्राकृतिक वा व्यक्तिगत कमजोरीको परिणाम होइन, यो मानवनिर्मित सामाजिक प्रणालीको उपज हो । यही भएर नेल्सन मण्डेलाले भनेका थिए ‘गरिबी दासता र रंगभेद नै मानव सिर्जित हो, र मानवीय प्रयत्नबाटै अन्त्य गर्न सकिन्छ ।’ माक्र्स र एंगल्सले पनि भनेका थिए ‘जबसम्म उत्पादनका साधनहरूको स्वामित्व अल्पसंख्यकको हातमा रहन्छ, तबसम्म गरिबी उन्मूलन सम्भव छैन । कम्युनिस्टहरूले गरिबी अन्त्य गर्न केवल सुधारवादी नीतिमा विश्वास गर्दैनन् । उनीहरूको विचारमा सम्पूर्ण सामाजिक र आर्थिक संरचनाको रूपान्तरण हो र त्यो रूपान्तरण गर्न पुँजीवादी राज्य संरचना क्रान्तिबाट ध्वस्त पार्नुपर्छ । समाजवादी रूपान्तरण गर्नाले मात्रै गरिबीविहीन समाज सम्भव हुन्छ ।

गरिबी र आर्थिक असमानता आजको विश्वको सबैभन्दा जटिल र यथावत् समस्याहरूमध्ये एक हो । आजको विश्वमा आर्थिक असमानताको ब्यारोमिटर निकै गहिरिएको छ, अर्थात् उच्च छ । अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार, विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले सन् २०२० देखि २०२२ बीच सिर्जना भएको सम्पत्तिको ६३ प्रतिशत हिस्सा ओगटेका छन् । जबकि ९९ प्रतिशत बाँकी जनसंख्याको मात्र ३७ प्रतिशत बढेका छन् । अक्सफामको विस्तृत रिपोर्टअनुसार सन् २०१५ देखि २०२५ सम्म विश्वकै धनी १० प्रतिशत वर्गले आफ्नो सम्पत्ति ३३.९ प्रतिशतमा नाफा कमाएको छ । सबैभन्दा धनी १० प्रतिशत मानिसहरूले विश्व सम्पत्तिको करिब ७६ प्रतिशतले नियन्त्रण गरेका छन् । अझ विडम्बनापूर्ण कुरा के छ भने विश्वका तल्लो ५० प्रतिशत जनसंख्याले जम्मा २ प्रतिशतमात्र ओगटेका छन् ।

आजको आधुनिक दुनियामा जहाँ प्रविधि र आर्थिक विकासको नयाँ उचाइहरू चुमिरहेको छ, त्यहाँ नै गहिरिँदो असमानता र सम्पत्ति केन्द्रणले मानव सभ्यतालाई नै चुनौती दिइरहेको छ । विश्वका धनी वर्गले अभूतपूर्व रूपमा आफ्नो सम्पत्ति बढाइरहेका छन्, जबकि आम जनताको आर्थिक अवस्था बिगे्रकोे छ । फोब्र्सका अनुसार अहिले विश्वमा ३ हजार २८ जना अर्बपति छन्, जुन अघिल्लो वर्षभन्दा २४७ ले वृद्धि भएको छ । जुन संयुक्त राज्य अमेरिका र चीनबाहेक अन्य कुनै पनि मुलुकको जीडीपीभन्दा पनि बढी हो ।

भर्खरै

सम्बन्धित खबर

Language »