(कविता)
दीपक भेटुवाल (दीपसागर)
एउटा साँझ
उज्यालोले
आफ्नो अन्तिम किरण
सुम्पदै थियो,
क्षितिजको काखमा
त्यो दिन
स्तब्ध थियो,
तुलसीको मठ पनि
लाग्छ समय स्वयं
शोकमा डुबेको छ
घेरा त थियो चराहरूको गगनमा
तर गुन्जिएका थिएनन् गीतहरू
मानौँ उनीहरूलाई थाहा थियो
आज एउटा आवाज
बिदा हुँदैछ धराबाट
सायद त्यो
आभास
मेरै मृत्युको थियो
मेरो मृत्यु, अर्थात् निप्टिएको इहलीला
अचानक निभेको बत्ती थिएन,
यो त बिस्तारैबिस्तारै
ओझेलिदै गएको
सजीव आकृति थियो
मेरो घरको ढोकाले
लामो समयसम्म
मेरो प्रतीक्षा गरिरह्यो,
तर म
समयको नदी तरेर
अर्कै किनारतिर हराइसकेको थिएँ ।
त्यो दिन
हो त्यही पल
आमाको आँखामा
उम्लिएका थिए,दुई सागर
भारी थियो पहाडभन्दा पनि
बुबाको मौनता
चम्किरहेका थिए
आँगनभरि छरिएका आँसुहरू
अधुरा सपनाहरूका ठेली
अझै छन् मेरो कोठामा
किताबका पानाबीच
सुकिरहेका गुलाबका पत्रझैँ
मेच, टेबुल र झ्यालले
लाग्छ सोधिरहेछ्न् मौन सवालहरू
पाउँदैनन् कुनै जवाफ
किनकि म त्यहाँ छैन
र त उत्तर पनि छैन
मृत्यु केवल
अन्धकारको अन्तिम
भित्तो होइन रहेछ
यो त
सम्झनाको अर्को
उज्यालो ढोका रहेछ,
जहाँबाट म
हावाको सुस्केराझैँ
स्वजनका स्मृतिहरूमा
फर्किरहन्छु ।
प्रियजन
चोला फेरिनुलाई
मृत्यु ठानेर विव्हल छौ भने
बिछोडका वेदनाले
मुर्झाएका हौ भने
कहिलेकाहीँ
साँझपख हेर्नु आकाशमा
चम्कियो एक्लो तारा भने
सम्झनू—
म त्यही हुँ
तिमीसँगै छु ।








