सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालिकाेटमा ३ सय १० जनाकाे र्यापिट टेष्ट सम्पन्न, सबैको रिपोर्ट ‘निगेटिभ’

कालिकोट । जिल्लामा कोरोना भाइरस संक्रमितको जाँच पहिलो चरण सकिएको छ । कोरोना संक्रमितको खोजीमा गाउँ गएको स्वास्थ्यकर्मीको टोली जिल्ला फर्किएको छ । भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको हो ।

टोलीले सोमबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पहिरो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

ती सबैजनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनले भने, ‘जिल्लाको खाँडाचक्र नगरपालिकामा ५४, शुभकालिका गाउँपालिकामा ३०, सान्नीत्रिवेणी गाउँपालिकामा ४१, रास्कोट नगरपालिकामा २६, पलाँता गाउँपालिकामा १२, पचालझरना गाउँपालिकामा १३, नरहरीनाथ गाउँपालिकामा ३५, तिलागुफा नगरपालिकामा १७ र महाँवै गाउँपालिकामा ८२ गरी ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको हो ।

महाँवै गाउँपालिकाबाट दुईजना शंखास्पदको स्वाब संकलन गरी जाँचका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । भारतबाट आएका ती व्यक्तिमा सुख्खा खोकी लागिरहेकाले उनीहरुको थप जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका र गाउँमा घरमै बसेका तर विदेशबाट फर्किएका नागरिकको र्‍यापिड टेस्ट गर्ने अभियान पहिलो चरण सम्पन्न भएको छ ।

गाउँमा विदेशबाट फर्किएका व्यक्तिको थप तथ्यांक संकलन भइरहेको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले भने, ‘सबै स्थानीय तहमा छुटफुट तथ्यांक संकलन भएपछि एक हप्तापछि फेरी दोस्रो चरणको र्‍यापिड टेस्ट अभियान सुरु गर्छौँ। स्थानीय तहले उपलब्ध गराएको तथ्यांकअनुसार पुन: जाँच गरिन्छ।’

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले विदेशबाट आएका नागरिकलाई लक्षित गरी र्‍यापिड टेस्ट गर्ने पहिलो चरणको काम समयमै सम्पन्न भएको बताए । उनले भने, ‘गत चैत ७ गते यता भारतबाट फर्किएका ३ सय ३५ जना नागरिकको नाम लिष्ट प्राप्त भएको थियो । त्यसमा ३ सय १० जनाको जाँच भइसकेको छ ।

छुटेका व्यक्ति र थप तथ्यांक स्थानीय तहबाट प्राप्त भएपछि पुन परीक्षण गर्ने तयारी छ । गाउँमा केही संख्या छुटेको अनुमान छ । सबै स्थानीय तहलाई पुन गाउँ सर्वक्षण गरी थप विवरण उपलब्ध गराउन पत्रचार गरिएको छ । नयाँ तथ्यांक संकलन गर्ने कार्य जारी छ ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाका ९ वटै स्थानीय तहले गरी ४ सय ४४ बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । सरकारले लकडाउन गरेपछि यहाँका मान्छेले पहिले पैदल हिँड्ने बाटोको प्रयोग गरी गाउँ फर्किएकाले गाउँमा कोरोनाको त्रास बढी छ । हालसम्म २ सय जना व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । हाल जिल्लामा ३२ जना विदेशबाट फकिएका व्यक्ति क्वारेन्टाइनमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »