काठमाडौं । नेपालको ग्रील तथा स्टील व्यवसाय क्षेत्र अहिले अनेकौं चुनौतीको सामना गरिरहेको छ। बजारको अनिश्चितता, बढ्दो प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव, व्यवसायिक सुरक्षाका प्रश्न र आर्थिक मन्दीका प्रभावबीच व्यवसायीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजित ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस शनिबार राजधानीको सानो गौचरनस्थित रानीमहल पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम केवल वार्षिकोत्सवको औपचारिक समारोहमा सीमित रहेन बरु यसले व्यवसायीहरूको वर्तमान अवस्था, संगठनको भूमिका, व्यवसायको भविष्य र कानुनी तथा संस्थागत सुधारका विषयमा गम्भीर बहसको रूप लियो। कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले अबको समय व्यवसायलाई परम्परागत शैलीबाट होइन, आधुनिक व्यवस्थापन, सुरक्षा मापदण्ड र संगठित नेतृत्वमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन संघका महासचिव यमबहादुर श्रेष्ठ (पशुपति) ले गरेका थिए भने सभापतित्व संघका अध्यक्ष सुनिलकुमार अमात्य ले गरेका थिए। कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ तथा सल्लाहकार समिति संयोजक निरञ्जनकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी महासंघका पदाधिकारी, केन्द्रीय सदस्य, संस्थापक अध्यक्ष मधुबहादुर कार्की, संस्थापक सदस्यहरू, सल्लाहकारहरू, प्रहरी वृत्त मालीगाउँका इन्चार्ज प्रहरी नायब उपरीक्षक धनबहादुर बोहोरा, काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष सत्यनारायण वादे, भक्तपुर जिल्ला अध्यक्ष किशोर खाईतु, ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष सुनिलकुमार अमात्य ले १४ वर्षअघि केही व्यवसायीहरूको सामूहिक प्रयासबाट सुरु भएको अभियान आज हजारौं व्यवसायीको साझा आवाज बन्न सफल भएको बताए। उनले संगठनलाई केवल संस्था नभई व्यवसायीहरूको अधिकार, सम्मान र सुरक्षाको साझा घरका रूपमा व्याख्या गरे। “हामीले धेरै उतारचढाव पार गरेका छौं। कठिन परिस्थितिमा पनि व्यवसायीहरूको साथ, विश्वास र एकताले नै संघलाई यहाँसम्म ल्याएको हो,” उनले भने, “अबको यात्रा अझ चुनौतीपूर्ण छ। त्यसैले हामी सबै एक ढिक्का भएर अघि बढ्नुपर्छ।” उनले व्यवसायीहरूलाई समयअनुसार आफूलाई परिवर्तन गर्न र नयाँ प्रविधि तथा व्यवस्थापन प्रणालीलाई आत्मसात् गर्न आग्रह गरे।
शुभकामना मन्तव्यका क्रममा काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष सत्यनारायण वादे ले संगठन बलियो भए मात्र व्यवसायीहरूको आवाज प्रभावकारी बन्ने बताए। उनले व्यवसायीहरूको हकहितका सवालमा सबै तहका संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे। भक्तपुर जिल्ला अध्यक्ष किशोर खाईतु ले पछिल्लो समय आर्थिक मन्दीका कारण धेरै व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै निराश नभई संगठनमार्फत समाधान खोज्नुपर्ने बताए।ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी ले उपत्यकाका तीन जिल्लाबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले व्यवसायीहरूको साझा मुद्दामा सबै एक ठाउँमा उभिनुपर्ने बताए।
विशिष्ट अतिथि निरञ्जनकुमार श्रेष्ठ ले व्यवसाय क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले व्यवसायीहरूले पनि सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखे। उनले व्यवसाय सञ्चालनमा सुरक्षा, गुणस्तर र व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गर्दै भने, “अब केवल काम गरेर मात्र पुग्दैन, व्यवस्थित र सुरक्षित तरिकाले काम गर्न सक्नुपर्छ। बजार बदलिएको छ, ग्राहकको अपेक्षा बदलिएको छ, त्यसैले व्यवसाय पनि बदलिनुपर्छ।” उनले श्रमिकहरूको स्वास्थ्य र कार्यस्थल सुरक्षामा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे।
संस्थापक अध्यक्ष मधुबहादुर कार्की ले संघको सुरुवाती दिन सम्झँदै भावुक अभिव्यक्ति दिए। उनले भने, “एक समय थियो, जब ग्रील तथा स्टील व्यवसायीहरू छरिएर थिए। उनीहरूको साझा आवाज थिएन। त्यही आवश्यकता महसुस गरेर हामीले संगठन निर्माणको अभियान थालेका थियौं। आज त्यो अभियान देशव्यापी आन्दोलनको स्वरूपमा विस्तार भएको देख्दा गर्व लाग्छ।” उनले संगठनको विकासमा योगदान पुर्याउने सबै संस्थापक, पूर्वपदाधिकारी तथा सदस्यप्रति सम्मान व्यक्त गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ ले व्यवसाय सञ्चालन गर्दा कानुन, नियम र व्यवसायिक आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। उनले अव्यवस्थित व्यवसायले समग्र क्षेत्रको प्रतिष्ठामा असर पुग्ने भन्दै व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरे।“हामी व्यवसायी मात्र होइनौं, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्र चलाउने शक्ति पनि हौं। त्यसैले हाम्रो जिम्मेवारी अझ ठूलो छ,” उनले भने।
कार्यक्रमका प्रमुख अतिथि तथा महासंघ अध्यक्ष ठुलो बाबु श्रेष्ठ को सम्बोधन सबैभन्दा बढी चासोको विषय बन्यो। उनले व्यवसायीहरूलाई विभाजनकारी प्रवृत्तिबाट टाढा रहन आग्रह गर्दै संगठनलाई थप बलियो बनाउन आह्वान गरे।“आज बजारमा अनेक चुनौती छन्। आर्थिक दबाब छ, प्रतिस्पर्धा छ, नीतिगत जटिलता छन्। यस्तो अवस्थामा एकअर्कालाई कमजोर बनाउने होइन, हातेमालो गरेर अगाडि बढ्ने समय हो,” उनले भने। उनले व्यवसायको आधुनिकीकरण, व्यवसायिक सुरक्षा, दक्ष जनशक्ति उत्पादन तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा महासंघले विशेष पहल गर्ने प्रतिबद्धता जनाए। उनले जिल्ला संघहरूलाई पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै संगठन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।
कार्यक्रमको समापन ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष अनिलकुमार श्रेष्ठले गरेका थिए ।
स्थापना दिवस समारोहमा उपस्थित वक्ताहरूको साझा निष्कर्ष थियो—व्यवसायको भविष्य सुरक्षित गर्न संगठन बलियो हुनुपर्छ, व्यवसाय आधुनिक हुनुपर्छ र व्यवसायीहरूबीचको एकता अझ मजबुत हुनुपर्छ।
कार्यक्रमले १४ वर्षको संस्थागत यात्राको समीक्षा मात्र गरेन, आगामी दिनमा ग्रील तथा स्टील व्यवसाय क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने मार्गचित्र पनि प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।
स्थापना दिवसको अवसरमा व्यक्त गरिएका विचार, प्रतिबद्धता र सन्देशहरूले ग्रील तथा स्टील व्यवसाय क्षेत्रलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्। १४ वर्ष पूरा गरेको संघ अब नयाँ संकल्प, नयाँ उत्साह र थप सशक्त संगठनात्मक आधारसहित अगाडि बढ्ने तयारीमा देखिएको छ।








