गजल : — समीक्षा थापा
जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,
हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर ।
बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,
आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर ।
सम्पत्ति होइन, सन्तान नै धन हो भन्नुहुन्थ्यो उहाँहरू,
आज तिनै सन्तान टाढा भए, आफ्नै संसार बसाएर ।
छोरा धन कमाउन गयो, छोरी पराई घर पुगिन्,
गाउँको घरमा बाबा–आमा बसे एक्लोपन सँगालेर ।
जिन्दगीभरि दुःख गरेर सन्तानको भविष्य कोर्नुभयो,
बुढेसकालमा साथ खोज्नुभयो, आफ्नै सन्तान सम्झिएर ।
रहरले कोही परदेशिँदैन, बाध्यताले बाटो रोजिन्छ,
आफ्नै देशमा भविष्य खोज्दा, निराशा मात्रै ।
नयाँ अनुहार आए पनि देशको मुहार फेरिएन,
युवाका सपना हराइरहे, आश्वासन मात्रै बाँडिएर ।
के पाएछौँ जिन्दगीबाट, के दिन सक्यौँ देशलाई?
आफ्नै माटोमा बाँच्न नपाई, परदेशी भयौँ रहर मारेर ।
अन्तिममा एउटा प्रश्न छ, यो समय र समाजलाई,
सन्तान हुर्काएर आखिर किन एक्लै भए आमाबुवा?

