सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मस्जिदहरुको अनुगमन,काठमाडौंं सुरक्षित छ भन्ने थप आत्मबिश्वाश बढेको छ: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले मंगलबार आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदहरुको अनुगमन गर्नुभएको छ । उदयपुर जिल्लामा मस्जिदभित्र समूहमा धर्मावलम्बी रहेका र उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको जनाउँदै खबर आउन थालेपछि प्रमुख शाक्यले काठमाडौंभित्र भएका मस्जिदहरुको अनुगमन गर्नुभएको हो ।

मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, संसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहित अनुगमनमा निस्किनुभएका मेयर शाक्यले पहिले घण्टाघरस्थित नेपाली जामे मस्जिद र त्यहाँभित्र रहेको मदरसा इस्लामिया स्कूलको अनुगमन गर्नुभएको थियो । त्यसपछि त्रिचन्द्र क्याम्पसको अगाडि रहेको पञ्च काश्मिरी तकिया तेश्रोमा सुन्धारामा रहेको नेपाली मदिनी मुस्लिम र मुस्लिम मासाफिरखाना र अन्तिममा स्वयम्भूस्थित मस्जिद पुग्नुभएको थियो । मस्जिदमा प्रार्थाना कक्ष, बिद्यालय, जमाती रहने ठाउँ सबैतिर ताला लगाइएको थियो । मस्जिदको हेरचाह गर्ने र सुरक्षा खटन पटन गर्ने मानिसमात्र भित्र थिए ।

अनुगमनका क्रममा मेयर शाक्यले, महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण गर्न सबै धार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै धार्मिकस्थलको नियमित पूजा बिधि गर्न तर जनसाधारणलाई धार्मिक स्थलमा नआउन आग्रह गरिएको बताउनुभयो । भाइरस सर्ने डरले व्यक्तिसँग व्यक्ति डराउनु पर्ने अहिलेको अवस्थामा कतै जानु परे स्थानीय प्रशासनलाई खवर गरेर मात्र जानु पर्छ । सूचना नलुकाऔं । यसले सबैको भलो गर्छ । अहिलेको डर भनेको मानिससँग मानिसको होइन, महामारीको हो । कोही बिदेशबाट वा अर्को ठाउँबाट आयो भने शंका गरेर हेर्नु पर्ने अवस्थामा आफ्ना बारेमा खुलेर भनौं । यसले महामारीविरुद्ध लड्न सघाउ पु¥याउँछ । उहाँले मस्जिदमा रहेको धार्मिक अगुवाहरुसँग आग्रह गर्नुभयो ।

सुन्धाराको मस्जिदमा घरमै नमाज पढ्न धर्माबलम्बीहरुलाई आग्रह गरिएको सूचना टाँस गरिएको थियो । त्यस्तै स्वयम्भूमा रहेको मस्जिदमा मुस्लिम समुदायका मानिसको अन्तिम संस्कारका समयमा काम गर्ने व्यक्तिहरु मात्र थिए ।

अनुगमनपछिको प्रतिक्रियामा मेयर शाक्यले भन्नुभयो — मुस्लिम समुदायका अगुवाहरु बर्तमान परिवेश व्यवस्थापनका लागि संवेदनशील भएको पाएँ । यसले काठमाडौं थप सुरक्षित भएको महसुस गरेको छु । उदयपुरको खवरले काठमाडौं पनि के हो? के हो? भन्ने प्रश्न थियो । अनुगमनपछि म ढुक्क भएँ ।

त्यस क्रममा मस्जिदमा रहेका व्यक्तिहरुले — आफूहरु अहिले उत्पन्न भएको जोखिम व्यवस्थापन गर्न जिम्मेवार रहँदा रहँदै बिभिन्न खवरले आफूहरुमाथि आरोप लागेको अवस्थाप्रति विवेक राखिदिन आग्रह गर्नुभएको थियो । हामीले कोही पनि जमातीलाई राखेका छैनौं । प्रार्थाना गर्ने, नमाज पढ्ने काम रोकिएको छ । मदरसा बन्द गरिएको छ । उहाँहरुले मस्जिदभित्रका ठाउँ देखाउँदै आफ्ना प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीले — काठमाडौं उपत्यकाभित्र भएका मस्जिदका गतिबिधिको अनुगमन गर्न आयोगले समिति बनाएर निगरानी गरेको बताउनुभयो । महामारीजन्य संक्रमणले धार्मिक व्यक्तिलाई पनि छोड्दैन । त्यसैले आफू बाँचेर अरुलाई बचाउन सामाजिक दुरी कायम गर्न र समूहमा हुने गतिबिधि नगर्ने कुरालाई मुस्लिम समुदायले व्यहारिक रुपमा कार्यान्वयन गरेको अध्यक्ष अन्सारीको भनाइ थियो । त्यस क्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले भन्नुभयो — कोरोना भाइरसको संक्रमण फैलाउने बिषयमा मुस्लिम समुदायसँग केही प्रसङ्ग जोडिएका थिए । यसले सामाजिक रुपमा पुग्ने क्षति व्यवस्थापन गर्न केही काम गर्न जरुरी थियो । महानगरका प्रमुखले यसको नेतृत्व लिइदिनुभयो । यसबाट अवस्था छर्लङ्ग भएको छ । यो एकदम सकारात्मक कुरा हो ।


उपत्यका अनुगमन समितिका सदस्य मोहम्मद निजासुद्दिनको प्रतिक्रिया छ — महानगरका प्रमुख शाक्य आफैं अनुगमनमा आएपछि मुस्लिम समुदायमाथि भएको आशंका निवारणमा ठूलो सहयोग पुगेको छ ।

सरकारका पूर्व राज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौंस्थित घण्टाघरको दायाँवायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् । यसबाहेक स्वयम्भूको कब्रिस्तानकै नकिज अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बुढानिलकण्ठमा साना—साना मस्जिद छन् । उहाँका अनुसार भक्तपुरमा २ वटा र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।

भर्खरै

सम्बन्धित खबर

Language »