सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकताको नाममा नेपाल पक्षलाई नपर्खने : शेर बा. तामाङ

काठमाडौं, साउन २४ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अब माधवकुमार नेपाल पक्षलाई एकताका नाममा अब धेरै दिन पर्खने स्थिति नरहेको बताएका छन् । पार्टीको सांगठानिक जीवनलाई चुस्त बनाउने, सदस्यता नवीकरण गर्ने, स्थानीय तहको अधिवेशन गर्ने र संवैधानिक व्यवस्था अनुसार मंसिरसम्म विधान महाधिवेशन नगरी नहुने भएकाले अन्यौलमा बस्न नसकिने नेता तामाङको धारणा छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता तामाङले वरिष्ठ नेता माधवकुमार नेपाललाई हाराहारीको अध्यक्ष बनाउनेबारे लिखित प्रस्ताव नआएको पनि जिकिर गरे । “हामीले अहिलेसम्म उहाँहरुको कुन कुरा मानेका छैनौं ? १० बुँदे सहमति गरेकै हो । माधवकुमार नेपाललाई अध्यक्ष नबनाई नहुने हो भने महाधिवेशनमा सोच्न सकिन्छ । तर त्यो पनि कार्यकर्ताबीचमा विधिवत् प्रक्रियाबाट जो निर्वाचित हुन्छ त्यो अध्यक्ष हुने हो,” उनले भने, “उहाँलाई हाराहारीको अध्यक्ष बनाउनबारे लिखित प्रस्ताव कहाँनेर आयो ? उहाँहरुले पार्टीको औपचारिक बैठकमै भाग लिनुभएको छैन त कसरी प्रस्ताव आउँछ ? बैठकमा सहभागी भएर उठाएका कुुरा जायज छ भने पार्टीले अवश्य सोच्छ ।”

माधव नेपाल पक्षलाई पद नभई नहुने हो पनि विधान महाधिवेशनमा जानुपर्ने उनले बताए । “विधानमा नभएका व्यवस्था कसरी गर्ने हो ? नवौं महाधिवेशनले पार्टी अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव लगायतका पदलाई मात्र चिन्छ । थप व्यवस्थाका लागि विधान महाधिवेशन नगरी सम्भव छैन,” उनले थपे । एमाले नेता तामाङले एमालेलाई कुनै पनि हालतमा फुट्न नदिने दृढता व्यक्त गरे । “मलाई विश्वास छ, साथीहरुका आफ्नै पार्टीको नेतालाई विश्वासको मत नदिने र अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने अवस्थासम्मका गतिविधिलाई आममाफी दिने भनिसकेका छौं,” उनले भने ।

नवौं महाधिवेशनबाट प्राप्त जिम्मेवारीमा स्वतः कायम हुनु नै सम्मानजनक एकता भएको उनको तर्क छ । “अहिलेसम्म उहाँहरु एमाले नै हो, पार्टी पनि एउटै हो, एमालेकै सांसद हो,” उनले भने, “अहिलेसम्म उहाँहरु अर्को पार्टीको होइन, अर्को पार्टी बनाइएको पनि छैन । अब एमालेको नेताहरुको आन्तरिक व्यवस्थापन मात्र हुने हो, दुइटा पार्टी एकता हुने होइन । माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक होइन, परामर्श बैठकमात्र हो ।” त्यसका लागि माधव नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको केन्द्रीय समिति बैठक डाक्न माग गरेअनुसार नै केन्द्रीय समितिको बैठकमा निम्तो गरिएको पनि उनले जानकारी दिए ।

देउवा सरकारमा जाने हो भने माधव नेपाल पक्ष एमाले नरहने पनि उनले स्पष्ट पारे । “सरकारमा जाने हो भने अर्को दल बनाएर मात्र जाने हो । उहाँहरु एमाले रहनुहुन्न,” उनले भने, “मलाई जहाँसम्म लाग्छ, साथीहरु निर्वाचनसम्म अर्को पार्टी बनाउनतिर लाग्दैनन् । हामी कमजोर भएका छैनौं । अर्को निर्वाचनबाट ठूलो दल बनाएर सरकार बनाउँछौं ।”

भर्खरै

सम्बन्धित खबर

Language »