दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”
![](https://www.dainiki.com/wp-content/uploads/2020/03/chori-buhari-school-educaton.jpg)
गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउनुहुन्छ । “सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।”
गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिनुभयो । “महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”
त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।
कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताउनुभयो । ती मदरसा र गुरुकूलमा गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले यहाँका सबै माविलाई २०÷२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् ।
यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ गाउँपालिकाले अघि सारेको छ । कचनकवलले चालु आर्थिक वर्षमा रु एक करोड दुई लाख बजेट विनियोजन गरेको छ । रासस