सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसईईमा ४ लाख ८२ हजार परीक्षार्थी, ‘ठूलो हल वा चौरमा परीक्षा चलाउन सकिन्छ’

काठमाडौं । कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ ।

सरकारले एसईई हुुने मुुलुुकभरका १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भएको छ । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयको समन्वयमा डेस्क स्थापना गर्न लागिएको हो ।

परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ । परीक्षाका क्रममा कुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट हुुनेछ ।

शिक्षाविद् विद्यानाथ कोइराला अहिलेको अवस्थामा परीक्षा नै रोक्न नपर्ने धारणा राख्छन् । तर कोरोना भाइरसको संक्रमण हुनबाट परीक्षार्थीलाई जोगाउने उपाय भने अपनाउनुपर्ने बताउँछन् । ‘परीक्षार्थीलाई हलमा राख्दा संक्रमण हुने सम्भावना रहन्छ भने ठूलो हल वा चौरमा राखेर पनि परीक्षा चलाउन सकिन्छ’, उनी भन्छन्, ‘बरु परीक्षार्थीलाई मास्क लगाएर आउन अनुरोध गरौं । पानी वा घामको समस्या हुने भएकाले चौरमा त्रिपाल टाँगेर पनि चलाउन सकिन्छ । आवश्यक परेमा स्वास्थ्यकर्मीको पनि परामर्श लिऔं ।’

परीक्षा स्थगन गर्दा फेरि सञ्चालनको टुंगो हुन्न । अवस्था झन् खराब हुन सक्छ । टाढाटाढाका विद्यार्थी घर फर्किन्छन् । पुनः सञ्चालन जटिल र खर्चिलोसमेत हुन्छ । त्यसैले सकेसम्म रोक्न नहुने विज्ञहरूको अभिमत छ ।

सरकारले पनि स्थगन नगरी सुरक्षाका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने विषयमा सचेतना जगाउन शिक्षा र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा हजार स्वयंसेवक परिचालन गर्ने भएका छन् । स्वयंसेवक परिचालनका लागि हेल्थ डेस्क स्थापना गर्न शिक्षा मन्त्रालयले सहसचिव दीपक शर्मा तथा स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीलाई संयोजक बनाएका छन् ।

स्वास्थ्य विषय अध्ययन गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा परिचालन गरिनेछ । शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार एमबीबीएस, बीपीएच, नर्सिङलगायत स्वास्थ्यसँग सम्बन्धित अन्य विषय पढेकालाई कोरोना भाइरसबारे चेतना जगाउन टोलटोलमा पठाइनेछ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोनाको संक्रमण हुनबाट सचेतना अपनाए पनि परीक्षा नै रोक्ने गरी छलफल नभएको बताए । ‘परीक्षा आउन केही दिन बाँकी छ । त्यतिन्जेलमा विकराल समस्या आयो भने उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले आवश्यक निर्णय गर्ला’, उनले भने ।

अभियानमा चिकित्सा शिक्षा आयोगलाई पनि सहभागी गराइनेछ । स्वास्थ्यसँग सम्बन्धित विषय पढाइरहेका मेडिकल कलेजसँग समन्वय गरेर अभियान चलाइने सरकारी तयारी छ । पहिलो चरणको योजनाअनुसार स्वयंसेवकले कोरोना भाइरस के हो भन्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउनेछन् । त्यसपछि भाइरस संक्रमण भएर भयावह अवस्था आए के गर्ने भन्ने विषयमा जानकारी गराइने केसीले बताए ।

४ लाख ८२ हजार परीक्षार्थी

चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ ।

ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी परीक्षार्थी बागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४ सय ३६ सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय ९४ केन्द्र कायम गरिएको परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »