सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन गरिन्छ मिर्गौलाको डायलाइसिस,कति समयसम्म बाँच्न सक्छन् डायलाइसिसका बिरामी ?


डा.पारश श्रेष्ठ
नेपालगञ्ज, मिर्गौलाको काम शरीरमा रगत शुद्धीकरण गर्ने हो। यसले रगतमा भएका विकार तथा काम नलाग्ने वस्तुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ। ती छानिएका विकार वस्तुहरु मिर्गौलाले मूत्रथैलीतर्फ पठाउँछ, जुन पिसाबको माध्यमबाट शरीरबाट निष्कासित हुन्छ । मिर्गौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलाइसिस गर्नुपर्छ। मिर्गौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मिर्गौला फेल पनि भएको भनिन्छ।


डायलाइसिस के हो ?
मिर्गौला खराब वा फेल भएपछि कृत्रिम रुपमा मिर्गौलाको काममा सघाउने विधि डायलाइसिस हो। स्वस्थ मिर्गौलाले गर्ने काम डायलाइसिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा गरिन्छ। डायलाइसिस सामान्यतया दुई प्रकारको हुन्छ
-हेमोडायलाइसिस: हेमोडायलाइसिस भनेको कृत्रिम मिर्गौला (हेमोडायलाइजर) को सहायताले शुद्धीकरण गर्ने विधि हो।
-पेरिटोनियल: पेरिटोनियल डायलाइसिस भनेको पेटमा सर्जरीमार्फत प्लास्टिकको ट्युब (क्याथेटर) त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धीकरण गर्ने विधि हो।
जब मिर्गौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलाइसिसको आवश्यकता पर्छ। यो एक प्रकारले मिर्गौला फेलको अन्तिम अवस्था पनि हो। बुझ्नुपर्ने कुरा के हो भने डायलाइसिस उपचार होइन। डायलाइसिस गरेपछि मिर्गौला सामान्य अवस्थामा आउने भन्ने हुँदैन अर्थात् यसले मिर्गौलाको रोगलाई निको पार्दैन । यसले मिर्गौलाले गर्ने केही काम मात्रै गर्ने हो। यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपणको विकल्प हुँदैन । अन्यथा जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ।
डायलाइसिसले शरीरमा के गर्छ ?
मिर्गौला फेल भएको अवस्थामा डायलाइसिसले शरीरमा विकारको मात्रालाई सन्तुलनमा राख्छ। मिर्गौलाले काम नगर्दा रगत शुद्धीकरण नहुने हुँदा शरीरमा विकारको मात्रा बढ्ने हुन्छ। तर डायलाइसिस गरेपछि शरीरमा भएका फोहोर, अनावश्यक नुन र पानीजस्ता विकार वस्तु जम्मा हुन पाउँदैनन्। यसले रगतमा पोटासियम, सोडियम तथा बाइकार्बोनेट जस्ता रसायनको सुरक्षित मात्रालाई मात्र रहन दिन्छ। त्यस्तै रक्तचापलाई पनि सन्तुलनमा ल्याउँछ।
मिर्गौलामा कुन प्रकारको समस्या देखिएको छ भन्ने कुरामा डायलाइसिसको अवधि भर पर्छ। ‘एक्युटु’ मिर्गौला फेल भएका केही बिरामी उपचारपछि ठीक हुन्छन् । यस्तोमा मिर्गौलाको उपचारमा सहयोगको लागि मात्रै छोटो समयको लागि डायलाइसिस गर्ने गरिन्छ।
मिर्गौला फेल भएपछि दुई प्रकारले उपचार गर्न सकिन्छ। एक डायलाइसिस र दोस्रो प्रत्यारोपण। डायलाइसिस गर्ने हो भने यो आजीवन गर्नुपर्ने हुन्छ, हप्ताको दुईतीन पटकसम्म। प्रत्यारोपण गरेपछि डायलाइसिस गर्नु पर्दैन।
कहाँ-कहाँ गरिन्छ प्रत्यारोपण ?
नेपालमा मिर्गौला प्रत्यारोपण ७० प्रतिशत शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिन्छ। अहिलेसम्म त्यहाँ एक हजार जना बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ। यो बाहेक वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ। नेपाल सरकारले मिर्गौला फेल भएका बिरामीको निःशुल्क उपचार गर्ने गर्छ। साढे चार लाख रुपैयाँ पर्ने मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गर्छ। यसका लागि अन्य जाँचहरुलाई करिब एकडेढ लाख रुपैयाँ खर्च हुने गर्छ। त्यसको पनि स्टेज छन्। स्टेज एक बाट पाँचौंसम्म जानलाई दुई वर्षसम्म लाग्न सक्छ । डायलाइसिस गर्न एक पटकको दुई हजार पाँच सय रुपैयाँ लाग्छ, जुन सरकारले नै व्यहोर्ने गरेको छ। सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न कुनै शुल्क तिर्नु पर्दैन तर अन्य परीक्षणका लागि भने करिब डेढ लाख रुपैयाँजति खर्च हुन सक्छ। आजीवन औषधि पनि खानुपर्ने हुन्छ।

कति समयसम्म बाँच्न सकछन् डायलाइसिसका बिरामी ?

मिर्गौला फेल भएपछि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने अवस्था भएन भने जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ । डायलाइसिस गरेको व्यक्ति कति समय बाँच्छ भन्ने कुरा उसको अन्य स्वास्थ्य अवस्था र मिर्गौलाको उपचार विधिमा देखाउने सतर्कतामा भर पर्छ। डायलाइसिस गरका व्यक्ति औसत रुपमा ५ देखि १० वर्ष बाँच्छन्। तर केही व्यक्तिहरु २० देखि ३० वर्षसम्म पनि बाँचेको उदाहरण छ ।

डायलाइसिस गरेका व्यक्तिले काम गर्न हुन्छ ?
हुन्छ, तर हलुका मात्रै काम । सामान्यतया डायलाइसिसको बानी परिसकेपछि मानिसहरु सामान्य रुपमा आफ्नो काममा फर्किन्छन्। डायलाइसिस गरेको व्यक्तिले गह्रौं सामान उचाल्नेजस्ता भारी काम भने गर्नुहुँदैन।

कति अवधिमा गरिन्छ ?
मिर्गौला फेल भएपछि दुई प्रकारले उपचार गर्न सकिन्छ। एक डायलाइसिस र दोस्रो प्रत्यारोपण । डायलाइसिस गर्ने हो भने यो आजीवन गर्नुपर्ने हुन्छ, हप्ताको दुई-तीन पटकसम्म। डायलाइसिस गर्न एक पटकको दुई हजार पाँच सय रुपैयाँ लाग्छ, जुन सरकार व्यहोर्ने गरेको छ ।
(लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ लामो समय भेरी अस्पतालको डायलाइसिस विभागको प्रमुखका रुपमा कार्यानुभव सम्हालिसक्नुभएको छ । लाइफलाइन हस्पिटलमा डा. श्रेष्ठबाटै मिर्गौलाका बिरामीहरुको उपचार र परामर्श हुने गरेको छ ।)

भर्खरै

सम्बन्धित खबर

Language »