बैजनाथ, बाँके क्षेत्र नं.३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. चुनाव जित्ने दृढ आत्मविश्वासका साथ गाउँ–गाउँ र टोल–टोलमा जनसम्पर्क अभियानमा सक्रिय देखिएका छन्।

बैजनाथ गाउँपालिका–५, जि गाउँ निवासी दीपक जि.एम. स्थानीय स्तरमै हुर्किएका युवा राजनीतिज्ञ हुन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जि.एम. युवा संघ नेपालको केन्द्रीय महासचिव हुँदै राष्ट्रिय राजनीतिमा स्थापित नामका रूपमा परिचित छन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन्।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा तत्कालीन ओली सरकारले स्कुल युनिफर्ममै रहेका आन्दोलनकारी ७६ जना विद्यार्थीमाथि गोली प्रहार गरी बीभत्स हत्या गरेको घटनामा जि.एम.ले खुलेर विद्यार्थीहरूको पक्षमा आवाज उठाएका थिए। राज्यको दमनविरुद्ध सडकदेखि सदनसम्म संघर्षको पक्षमा उभिएका जि.एम.ले अन्यायका विरुद्ध नडराई बोल्ने नेताको छवि निर्माण गरेका छन्।
युवाको नेतृत्व गर्ने स्थानीय उम्मेदवारका रूपमा परिचित जि.एम. आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं.३ मा चुनाव जित्ने बलियो आधारसहित अघि बढिरहेका छन्। जनजाति समुदायका छोरा, युवा शैक्षिक व्यक्तित्व जि.एम. अबको सरकार परिवर्तनको मुख्य आधार आफूहरूको नेतृत्व हुने दाबी गर्दै आएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा जि.एम.ले घरदैलो कार्यक्रममार्फत जनताका गुनासो सुन्ने, स्थानीय समस्या पहिचान गर्ने र समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको पक्षमा नडगमगिने नेतृत्व दिने हाम्रो अभियान हो,” प्रचारप्रसार संयोजक सुशील लामिछानेले बताए। स्थानीय जनतासँग नजिक रहेर दुःख–सुखमा साथ दिने, युवाको आवाज संसदसम्म पुर्याउने र बाँके क्षेत्र नं.३ को समग्र विकासका लागि लड्ने अठोटसहित दीपक जि.एम. चुनाव जित्दै अगाडि बढिरहेको स्थानीयहरूको धारणा छ।







