राजन थापा
काठमाडौं / मानव जीवन बचाउने र दृष्टिविहीन व्यक्तिहरूलाई उज्यालो प्रदान गर्ने महान उद्देश्यका साथ आयोजना गरिएको रक्तदान तथा आँखादान कार्यक्रम तिलगंगा आँखा अस्पताल, तिलगंगा, काठमाडौंमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
समाजमा मानवता, करुणा र सेवाभावको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरू मात्र होइन, समग्र समुदायलाई नै प्रेरित गरेको छ।तिलगंगा आँखा अस्पताल, काठमाडौंमा सम्पन्न रक्तदान तथा आँखादान कार्यक्रम LCK Shree Machhapokhari, LCK Vision Circle तथा पर्वत कुस्मा समाज, काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
सामाजिक उत्तरदायित्व र मानव सेवाप्रति प्रतिबद्ध यी संस्थाहरूले आपसी सहकार्यमार्फत समाजका लागि उदाहरणीय कार्य प्रस्तुत गरेका छन्। कार्यक्रम LCK Shree Machhapokhari का अध्यक्ष सनत कुमार बस्नेत, LCK Vision Circle का अध्यक्ष प्रदीप कार्की तथा पर्वत कुस्मा समाज, काठमाडौंका अध्यक्ष रामचन्द्र श्रेष्ठको नेतृत्व तथा मार्गदर्शनमा प्रभावकारी रूपमा सम्पन्न भएको हो।
कार्यक्रम सफल बनाउन तिलगंगा आँखा अस्पताल र प्रसूती गृह थापाथलीको प्राविधिक सहयोग अत्यन्त महत्वपूर्ण रह्यो। अस्पतालका अनुभवी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिताले रक्तदान प्रक्रिया सुरक्षित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको थियो। कार्यक्रम स्थलमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरिएको थियो, जसले सहभागी दाताहरूलाई थप आत्मविश्वास र सहजता प्रदान गर्यो।
कार्यक्रममा ठूलो संख्यामा स्वयंसेवी दाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्नुका साथै आँखादानसम्बन्धी औपचारिक प्रतिज्ञा गरेका थिए। रक्तदानमार्फत तत्काल जीवन बचाउन सकिने र आँखादानमार्फत मृत्यु पश्चात् पनि कसैलाई दृष्टि प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई अत्यन्त पवित्र र मानवतापूर्ण अभियानका रूपमा लिइएको थियो।
कार्यक्रमको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा २१ जना महानुभावहरूले आँखादान गर्ने औपचारिक प्रतिज्ञा गरेका छन्। यो प्रतिज्ञाले भविष्यमा दृष्टिविहीन व्यक्तिहरूको जीवनमा उज्यालो ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। मृत्युपछि पनि मानव सेवा सम्भव छ भन्ने सन्देश यस अभियानमार्फत समाजमा गहिरो रूपमा स्थापित भएको छ।
कार्यक्रममा डिस्ट्रिक्टका आदरणीय Senior Lions Leaders ज्युहरूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको प्रेरणादायी सम्बोधन, अनुभव र सेवाभावले कार्यक्रमलाई अझ अर्थपूर्ण र उत्साहजनक बनाएको सहभागीहरूले बताएका छन्। उहाँहरूले मानव सेवामा निरन्तर सक्रिय रहन सबैलाई आग्रह गर्दै यस्ता कार्यक्रमहरू समाजका लागि अत्यावश्यक भएको धारणा व्यक्त गर्दै बस्नेत भन्नू हुन्छ सेवा गर्नि भनेकाे साच्चिकै दुखि पिडित ले पाउने सेवा हाे।
कार्कि भन्नू हुन्छ “तपाईंको सानो सहयोग, कसैको नयाँ जीवन र नयाँ दृष्टि” भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि रक्तदान, आँखादान तथा अन्य सामाजिक सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, समाजका सबै वर्ग, युवा, महिला तथा विभिन्न संघ–संस्थालाई यस्ता पुण्य कार्यमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।
यस प्रकारका कार्यक्रमहरूले मानवता, सहयोग र सामाजिक एकताको भावना मजबुत बनाउने विश्वास लिइएको छ। रक्तदान तथा आँखादानजस्ता कार्यले केवल व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै सकारात्मक दिशातर्फ डो¥याउने आयोजकहरूको भनाइ रहेको छ।







