नेपालगन्ज, नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं २ बाँकेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आय-आर्जन गर्न सक्षम गराउन आफू प्रयत्नरत रहेको बताउनुभएको छ। आज वडा नं २१ पुरैनीमा नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका राईले स्थानीय स्तरमै युवाहरूले काम पाउने र मनग्य आम्दानी गर्नसक्ने गरी आफूले योजना बनाइरहेको बताउनुभयो।

अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने बताउनुभएका उम्मेदवार राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गर्नुभयो। वहाँले भन्नुभयो- “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन। तर यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म अग्रसर हुन्छु।”
निर्वाचन क्षेत्र नं २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्ष तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गर्नुभयो। ‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन!’’ राईले भन्नुभयो।
पछिल्लो ३ वर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताउनुभयो। निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने वहाँको भनाई थियो।
आफूले योपल्ट उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गर्नुभएका राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याएपनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताउनुभयो। २०७४ सालमा २१ हजार ५ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित राई २०७९ मा २३ हजार ५ सय २० मत ल्याएर पराजित हुनुभएको थियो।
बाँकेका केही राजनीतिज्ञ र विरोधी व्यक्तिहरू सधैं नै आफूलाई अनावश्यक बदनाम गर्न लागिपरेको आरोप पनि राईले लगाउनुभयो। “इश्तियाक राईले जित्यो भने आफूहरू पछि परिन्छ भन्ने डरले केही मानिसहरू असम्बन्धित कुराहरूमा पनि मलाई जोडिदिन्छन्। स्थानीय तहका कामहरूमा समेत त्यहीँका जिम्मेवार व्यक्तिलाई केही नभनेर मलाई देखाइन्छ। यस्ता गलत कुराहरू जनताले बुझ्नु जरुरी छ।” , राईले भन्नुभयो।
राईले आजै वडा नं १३ का मतदाताहरूसँग घरघरमै पुगेर भेटघाट गर्नुभएको थियो।







