बाँके , बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईको चुनावी अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ।
शुक्रबार डुडुवा गाउँपालिकाका विभिन्न टोल–बस्तीमा सञ्चालन गरिएको घरदैलो अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता र आत्मीय स्वागतले राईप्रति बढ्दो जनसमर्थन झल्किएको देखिएको छ । उम्मेदवार राईले डुडुवा निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने बेतहनी–२ अमृतपूर्वा, बाबागाउँ, उचवा हल्बलडोली तथा खलवा हल्बलडोली–३ लगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलो क्रममा स्थानीय बासिन्दाले उनलाई न्यानो स्वागत गर्नुका साथै आफ्ना समस्या, सुझाव र अपेक्षा खुलेर राखेका थिए।

राईले मतदाताको भावना सुन्दै उनीहरुको विश्वास र साथलाई आफ्नो चुनावी यात्राको ऊर्जा भएको बताएका छन्। घरदैलोका क्रममा विभिन्न उमेर समूहका मतदाताले उम्मेदवार राईलाई शुभेच्छा तथा आशीर्वाद प्रदान गरेका थिए।
मतदाताबाट प्राप्त समर्थन र हौसलाले आफ्नो आत्मविश्वास अझ मजबुत भएको बताउँदै राईले मधेस तथा मधेसी समुदायको अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले समावेशी विकास, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
स्थानीय मतदाताहरूले उम्मेदवार राईले उठाएका विकास, अधिकार र समावेशीताका एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। डुडुवा क्षेत्रका धेरै बासिन्दाले विगतदेखि ओझेलमा परेका स्थानीय समस्या समाधानका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउँदै राईबाट आशा व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रममा सहभागी ८५ वर्षीय स्थानीय ज्येष्ठ नागरिक अमिखा प्रसादले उम्मेदवार राईप्रति विश्वास व्यक्त गर्दै भने, “हामीले यस्तो उम्मेदवार पाएका छौं, जसले हाम्रो दुःख–सुख बुझ्ने प्रयास गरिरहेका छन्। उहाँले हाम्रो क्षेत्रको विकास र समुदायको अधिकारका लागि काम गर्नुहुन्छ भन्ने विश्वास छ।” डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा गरिएको घरदैलो अभियानले उम्मेदवार राईप्रति जनविश्वास र समर्थन क्रमशः बढ्दै गएको स्थानीयको भनाइ छ।
स्थानीय जनताको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया उम्मेदवार राईको चुनावी अभियानलाई थप ऊर्जा प्रदान गरिरहेको देखिन्छ।







