सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशैंको उल्लासमा फुटबलको रौनक, महागौरी बन्यो च्याम्पियन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा आयोजित ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि महागौरी टोलीले जितेको छ। बिएमजे रिलोडेड क्लबको आयोजनामा असोज २५ गते वि प्ले स्पोर्टस् एरिनामा सम्पन्न प्रतियोगिताको फाइनलमा महागौरीले सिद्धिदात्री टोलीलाई पछि पार्दै यस वर्षको उपाधि हात पारेको हो।

राष्ट्रिय फुटबल खेलाडी गणेश लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी चार टोलीले सहभागिता जनाएका थिए। दशैंको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै खेलाडीबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

प्रतियोगितामा सहभागी चारवटै टोलीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। विशेषगरी फाइनलमा पुगेका महागौरी र सिद्धिदात्रीबीचको खेल रोमाञ्चक बनेको थियो। प्रतिस्पर्धात्मक फाइनलपछि महागौरी टोलीले उपाधि जित्दै ‘बिएमजे दशैं कप–२०८३’ को ट्रफी उचाल्न सफल भयो।

चार टोलीमा समेटिए खेलाडी

प्रतियोगितामा कात्यायनी टोलीबाट आमिन महर्जन, गणेश लामा, सरोज निरौला, सुमङ्गा खड्का, बिराज केसी, रबिन गुरुङ, बिजय श्रेष्ठ, आङछिरिङ शेर्पा, सीताराम बुढाथोकी र आलोक शाहले सहभागिता जनाएका थिए।

त्यसैगरी, कालरात्रि टोलीमा बसुदेव न्यौपाने, राधे नगरकोटी, मनोज बखती, प्रमेश थापा, करण मगर, केदार धिताल, राज योञ्जन, दीपक श्रेष्ठ, कुमार निरौला र किरण लामिछाने रहेका थिए।

महागौरी टोलीबाट अर्बिन केसी, सन्तोष श्रेष्ठ, पवन खत्री, विदुर रायमाझी, सञ्जय सुबेदी, भानु डंगाल, अनुप बस्याल, आशिष न्यौपाने, बिमल नेपाली, बिनोद श्रेष्ठ र सागर थापाले खेलेका थिए।

त्यस्तै, सिद्धिदात्री टोलीमा सुजन बराम, सुरेश कार्की, अर्जुन बागलुङ, रेशम रेग्मी, सञ्जय दास, कृष्ण बराल, राजेश बस्नेत, लक्ष्मण नगरकोटी, दिपेश केसी र रमेश गुरुङ सहभागी थिए।

खेलकुदसँगै दशैंको शुभकामना आदानप्रदान

बिएमजे रिलोडेड क्लबका अध्यक्ष पवन खत्रीले प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उद्देश्य फुटबल खेलको प्रतिस्पर्धामा सीमित नरही स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु, खेलकुदप्रति आकर्षण बढाउनु र दशैंको अवसरमा आपसी सम्बन्धलाई थप सुमधुर बनाउनु थियो।

अध्यक्ष खत्रीले प्रतियोगितालाई खेलकुद गतिविधिका रूपमा मात्र नभई दशैंको शुभकामना आदानप्रदान गर्ने, साथीभाइ तथा खेलप्रेमीबीच भेटघाट गराउने र आपसी एकता बलियो बनाउने अवसरका रूपमा समेत लिइएको बताए।

दशैंको उल्लासबीच आयोजित प्रतियोगिताले खेलकुदमार्फत समुदायलाई जोड्ने प्रयास गरेको छ। स्थानीयस्तरमा यस्ता प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसरी ‘बिएमजे दशैं कप–२०८३’ महागौरी टोलीको उपाधि जितसँगै सम्पन्न भएको छ। प्रतियोगिताले खेलकुद, मनोरञ्जन र चाडपर्वको सांस्कृतिक उल्लासलाई एउटै मञ्चमा जोड्दै दशैंको माहोललाई थप उत्साहपूर्ण बनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »