सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। यसै क्रममा उनको सिर्जनात्मक संलग्नता रहेको ‘बबाल गर्दिन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपेश एसके अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले सांगीतिक क्षेत्रमा नयाँ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

सामान्य म्युजिक भिडियोको ढाँचाभन्दा फरक फिल्मी शैलीमा तयार पारिएको प्रस्तुतिमा दृश्य संयोजन, कलाकारको अभिनय र मनोरञ्जनात्मक पक्षलाई विशेष महत्त्व दिइएको छ। गीतको भावअनुसार दृश्य निर्माण गर्ने प्रयासले भिडियोमा दिपेशको सिर्जनात्मक सोच झल्काएको छ।

भिडियोको अर्को आकर्षक पक्ष कलाकारको विविधता हो। बालबालिकादेखि प्रौढ उमेरका महिलासम्मलाई समेटेर तयार पारिएको प्रस्तुतिले फरक पुस्ताका दर्शकलाई एउटै पर्दामा जोड्ने प्रयास गरेको छ। दिपेश एसके र सुष्मा मगर मुख्य भूमिकामा देखिएका छन्।

गीतमा एलिना चौहान र सूर्य राई दनुवारको स्वर रहेको छ। नारायण नेपालको शब्द तथा सूर्य राई दनुवारको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्। कुमार रानाले मिक्सिङ तथा मास्टरिङ र सुमन रानाले रेकर्डिङ गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल रेकर्डिङमा गरिएको हो। भिडियोको छायाङ्कन प्रेम लामाले गरेका छन् भने मेकअपको जिम्मेवारी रेजिना खत्रीले सम्हालेकी छन्।

नृत्य निर्देशनबाट सुरु भएको दिपेशको यात्रा अब निर्देशन र अभिनयसम्म विस्तार हुँदै गएको छ। ‘बबाल गर्दिन्छु’मार्फत उनले दर्शकलाई कत्तिको आकर्षित गर्न सक्छन् भन्ने कुरा आगामी दर्शकीय प्रतिक्रियाले स्पष्ट पार्नेछ।

भर्खरै

सम्बन्धित खबर

Language »