सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय तहले आवश्यक व्यवस्था गर्ने सहमतिपछि महाकालीपारि अलपत्र नेपालीको उद्धार सुरु

कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ ।लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो ।

बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । ‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने ।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धारभुलाका पाँच क्वारेन्टाइनमा एक हजार ४० जना नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि चार दिनदेखि दार्चुला आइ बसेका थिए । दार्चुलाका स्थानीयलाई क्वारेन्टाइनमा राख्न तयारी गरिएको छ । उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको छ ।

भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वाेन्टाइनमा बसेका नेपालीहरु हुन् । क्वारेन्टाइनमा नबसेकाहरुलाई पनि यसैपटक स्वदेश फर्काउन लागिएको छ । उनीहरुलाई सीमा क्षेत्रमा जाँचपछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ ।

मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका परीक्षणहरु गरिने र त्यसपछि उनीहरुलाई क्‍वारेन्टाइनमा बस्नका लागि पठाइने बताइएको छ। सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक पालिकामा एक सय बेडका क्‍वारेन्टाइन निर्माण भइसकेका छन्। सीमाबाट फर्केका नागरिकलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा राख्नै पर्ने र १४ दिनमा उनीहरुको आरडीटी गरेर मात्रै घर पठाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् ।

क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।

केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए ।स्थानीय तहले आवश्यक व्यवस्था गर्ने बताएपछि उनीहरुको उद्धार गरिएको हो

भर्खरै

सम्बन्धित खबर

Language »