नुवाकोट। नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।
सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेकोहो।
यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
ढकालका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ ।








