सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेन्जी आन्दोलनका घाइते रमेश लामा उपचारको पर्खाइमा

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल ल्यायो। लामो समयदेखि सत्तामा प्रभाव जमाउँदै आएका ठूला राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिलाई सत्ताको जिम्मेवारीसम्म पुर्‍याउने अवस्था यही आन्दोलनपछि सिर्जना भयो। सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक परिवर्तनका नारासहित उठेको आन्दोलनले देशको राजनीतिक समीकरण नै परिवर्तन गरिदियो। तर, यही परिवर्तनको आधार बनेको आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको अवस्था भने अझै पीडादायी छ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–४ का रमेश लामा त्यसै आन्दोलनका घाइतेमध्ये एक हुन्। २०८२ भदौ २४ गते कलंकीमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका लामालाई तत्काल अस्पताल पुर्‍याइएको थियो। उनको शरीरमा रहेका गोली निकालिए र तत्काल आवश्यक उपचारसमेत गरिएको थियो। तर, अस्पतालबाट घर फर्किएपछि लामाको पीडाको अर्को अध्याय सुरु भयो। सामान्य काम गरेर जीविकोपार्जन गर्दै आएका लामा अहिले नियमित काम गर्न सक्ने अवस्थामा छैनन्। शरीरमा रहेका चोटका कारण भारी काम गर्न नसक्ने उनी सामान्य हिँडडुल गर्न सक्ने भए पनि नियमित रोजगारीको अभावमा दैनिक जीवन धान्नै कठिन भएको परिवारको भनाइ छ।

लामाले राज्यबाट जेन्जी आन्दोलनका घाइतेको परिचयपत्र भने पाएका छन् तर, उक्त परिचयपत्रले उपचार र जीवनयापनमा आवश्यक सहयोग दिलाउन नसकेको उनका आफन्तहरूको गुनासो छ। घाइतेको अवस्था र आवश्यकताअनुसार वर्गीकरण गरी राज्यले उपचार तथा पुनःस्थापनाको जिम्मेवारी लिनुपर्ने उनीहरूको माग छ। रमेश लामाको उपचार र अवस्थाबारे जानकारी गराउँदै आफन्तहरू सरकारका विभिन्न निकायसम्म पुगे पनि आश्वासनबाहेक ठोस सहयोग प्राप्त नभएको बताउँछन्। घाइते परिचयपत्र बोकेर सरकारी अस्पताल पुग्दा समेत अपेक्षित सहुलियत र उपचार सुविधा नपाएको उनीहरूको गुनासो छ।

घाइते लामा पछिल्लो समय मानसिक रूपमा समेत असहज अवस्थामा रहेको परिवारले जनाएको छ। बेला–बेला बेहोस हुने तथा शरीरमा रहेका चोटका कारण असहज महसुस गर्ने गरेका छन्। आन्दोलनपछि देशको राजनीतिक सत्ता र व्यवस्था परिवर्तनको बहस चलिरहँदा त्यस परिवर्तनका क्रममा घाइते भएका नागरिकको जीवन भने कष्टकर बन्दै गएको छ।

अहिले रमेश लामालाई नियमित उपचारसँगै परिवारको दैनिकी चलाउनसमेत सहयोग आवश्यक परेको छ, त्यसैले उनले राज्यसँग आफ्नो उपचारको जिम्मेवारी लिन आग्रह गर्दै सहयोगी मनहरूसँग समेत सहयोगको अपिल गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »