सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जङ्गलमा शव भेटियो

काठमाडौं । ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ। अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको हो ।

प्रहरीले उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा फेला पारेको छ । हत्या आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जङ्गलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान गरिएको छ ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउने प्रहरीको भनाइ छ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले हत्याको कारणबारे अनुसन्धान भइरहेको बताउँदै ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »