काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जाने प्रलोभनमा पर्दा ३२ जना ठगिएका छन् । उनीहरुले ३९ लाख ५७ हजार रुपैयाँ पनि गुमाएका छन् ।
कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक जना व्यक्तिले ठगेपछि पीडित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगेका थिए । प्रहरीले अनुसन्धानपछि मोरङको रतुवामाई–६, बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।
उनलाई बिहीबार टेकुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । थापाका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।