सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास

काठमाडौँ । पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंहलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ ।

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जमा राखेर केही बेरमा उनको स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० अंगुर जिसीले बताए । ‘घटनास्थलबाट उठाएर उहाँलाई केहीबेर प्रहरी वृत्तमा राखेका थियौं, त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकोमा चिकित्सकसँगको परामर्शपछि हाललाई अस्पताल भर्ना गरिएको छ,’ डीएसपी जिसीले भने ।

महोत्तरीको जलेश्वर नगरपालिका(९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर २०७९ जेठ २७ देखि धर्ना र अनसन बसेकी थिइन् । उनका एक छोरा छन् ।

५ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
काठमाडौंको माइतीघर र वसन्तपुरमा अनसन बसेकी उनीसँग असार ३ मा उनका माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री वालकृष्ण खाँणले नै अनसन तोडाएका थिए ।अनसन तोड्ने सहमति गर्दा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल र उपसचिव वसन्त भट्टराई, अनशनरत निहारिका राजपुत भनिने (सोनालीकुमारी सिंह), सिंहको तर्फबाट बाराकी सावित्रा सुवेदी र रामेछापकी सुनिता गौतम तथा पत्रकार लोक्सरी कुँवरले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडित मैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र अन्तिममा गृहमन्त्री खाँणबाट जुस पिएर अनशन तोड्ने गरी ५ बुँदे सहमति भएको थियो । उक्त सम्झौतापछि अनसन तोडेकी निहारिकाले माग पूरा नभएपछि पुन आन्दोलन सुरु गरिन् ।

पछिल्लो पटक साउन २० मा सिंहदरबार दक्षिण ढोकाअघि आमरण अनशनमा बस्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको अर्को साता शुक्रबार वसन्तपुरबाट ट्याक्सी चढेर छोरासहित महाराजगञ्ज पुगेकी निहारिका ट्याक्सीबाट ओर्लिएलगत्तै हातमा बोकेको बोतलबाट शरीरमा पेट्रोल छर्केकी थिइन् । त्यसपछि तत्कालै शीतल निवास अगाडि रहेका प्रहरीले उनलाई अप्रिय घटना हुन नपाउँदै नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्त पुर्‍याएको थियो ।

त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकी निहारिकाले आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएकोले आत्मदाहको बाटो रोजेको बताएकी छन् ।

‘मैले न्याय पाइनँ, सरकारले गरेको ५ बुँदे सम्झौतामा उल्लेख भएअनुसार मेरो छोरा र आरोपितको डीएनए परीक्षण पनि भएन, आरोपित व्यक्तिलाई पनि पक्राउ गरिएन त्यसैले मर्नलाई शरीरमा पेट्रोल छर्केको हो ।’ उनले आत्मदाह प्रयास गरेलगत्तै प्रहरीले गृह मन्त्रालयमा पनि त्यसबारे जानकारी गराएको छ ।

कान्तिपुर अनलाइनबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »