सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले बिदाइ गर्नुभयो ।

बाँके जिल्लाबाट यस वर्ष हज गर्न जाने ११३ जना पुरुष र महिलाहरुलाई नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई, हज समितिका सदस्यहरु, आफन्तजन तथा समुदायका अगुवाहरुले फूल माला लगाएर बिदाइ गर्नुभयो । सो अवसरमा प्रमुख बिष्ट र उपप्रमुख राईले हजयात्राको सफलताको शुभकामना दिनुहुँदै हज जस्तो पवित्र कार्य गर्न जान पाउनु हरेक मुस्लिमका लागि सौभाग्यको कुरा भएको बताउनुभयो ।

उहाँहरुले हाजीका लागि स्थानीय सरकारले पनि आगामी वर्षबाट केही कार्यक्रम राख्ने तथा हाजीहरुको हजलाई सरल र सफल बनाउन समन्वय र सहकार्य गर्ने बताउनुभयो । सो अवसरमा मदरसा फैजुन्न्बी जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव इर्फान सिद्दिकी, सदस्य ज्याउल हक, अगुवा मेराज अहमद हलवाई लगायतको पनि उपस्थिति थियो । हाजीहरुलाई बिदाई गर्न ठुलो सङ्ख्यामा महिला, पुरुषलगायत समुदायबाट सर्वसाधारण बीपी चोक पुग्नुभएको थियो ।

छुट्टिनुपर्दाको पीडा आफन्तका आँखामा प्रष्ट देखिन्थ्यो । सो अवसरमा हज यात्रीहरुले ‘भूलवश भएका गल्ती र कमी कमजोरी’ बिर्सन पनि सबैसँग अनुरोध गरिरहनुभएको थियो । बाँकेबाट यस वर्ष ११३ हाजी मक्का मदिनाका लागि प्रस्थान गर्नुभएको छ । बाँकेका हजयात्रीहरु जेठ ५ गते काठमाडौँबाट मक्काका लागि उड्ने कार्यक्रम रहेको हज समितिले जनाएको छ । इस्लाम धर्ममा आवश्यक परिमाणमा धन हुने हरेक मुस्लिमले जीवनमा एकपटक हज गर्न अनिवार्य छ ।

गरिब र विपन्नलाई भने हज अनिवार्य छैन । हजयात्रीको बिदाइ कार्यक्रमका लागि निःशुल्क खानेपानी र विभिन्न ड्राई फ्रुटको व्यवस्था अमेरिकामा रहनुभएका नेपालगन्जका समाजसेवी युवा राजा खानले गर्नुभएको थियो । उहाँले अमेरिकामा बसेर पनि नेपालगन्ज र सो वरिपरिका लागि विभिन्न कार्यक्रममा सहयोग गर्दै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »