सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चैलिङ सामुदायिक होम स्टे प्रवर्धनको प्रतिबद्धता

माधव घिमिरे “अटल”

काठमाडौं । पर्यटक पर्खिरहेको बेनीघाट रोराङ गा.पा. – ८ अवस्थित चैलिङ सामुदायिक होम स्टे प्रवर्धन समारोह सम्पन्न भएको छ । गाउँपालिका तथा गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ)को संयुक्त पहलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता भिटोफ नेपालका अध्यक्ष सकुन्तला पाण्डे देवकोटाले गरेकी थिइन् । समारोहका प्रमुख अतिथि भने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल) थिए ।

समारोहका विशेष अतिथि गाउँपालिका अध्यक्ष विवेक थपलियाले चैलिङ गाउँलाई होम स्टेका निमित्त प्रवर्धन गर्न सकिए एकातिर यहाँको तन्नेरी जमातलाई विदेश पलायन हुनबाट रोक्न सकिने र अर्कोतिर ग्रामीण पर्यटन विकास गरी अर्थतन्त्र सुधार्न सकिने बताए । उनले यहाँका दुईतले घरमा सुरूआत गरिएको होम स्टेमा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्नका निम्ति सम्भव भएसम्म स्वदेशी र अर्ग्यानिक स्वाद चखाउने र टाढा टाढाका हिमाल लगायत यहाँका मठमन्दिर अवलोकन गराइने उद्देश्य रहेको पनि अवगत गराए ।

त्यसरी नै रामप्रसाद सापकोटा(कमल)ले चैलिङ होम स्टे प्रवर्धनका निम्ति ब्रोसर तयार गर्नेदेखि अन्य आवश्यक काममा सघाउने वाचा गरे । उनले विदेशीलाई स्थानीय खानाको गुणस्तरीयतामा ध्यान पुर्‍याउन प्रशिक्षितहरूलाई आग्रह गरे । डा.आलोक प्रसाई, प्रा.डा.प्रेम शर्मा र भूमराज तिवारीले होम स्टेलाई कसरी सञ्चालन गरे स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्नेबारे आधारभूत प्रशिक्षण दिए ।

भिटोफका द्वितीय उपाध्यक्ष मनहरि दाहालले संयोजन गरेको सो कार्यक्रममा होम स्टे सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिवको अनुरोधमा भिटोफकी सदस्य कल्पना महर्जनले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

भिटोफको कार्यक्रम सुरू हुनु अघिल्लो दिन गाउँपालिकाले सुरूआत गरेको एकीकृत आवासीय विद्यालय स्थापना र विकासको समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले गाउँपालिका स्वयम्ले एकीकृत आवासीय विद्यालय स्थापना र सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले गा.पा. अध्यक्ष विवेक आफैँमा कर्मठ तथा कर्मवीर युवा भएकाले उनले आफ्नो लक्ष्य चुमी छाड्ने दाबी गर्दै महान् जनयुद्धको सिलसिलामा परिवारका चार जना सदस्य गुमाउँदा समेत हिम्मत नहारेका जुझारू नेता विवेकको आँटले सहजै मूर्तरूप लिने उनको कथन थियो । त्यो क्षेत्रले जनक्रान्तिमा दिएको अविस्मरणीय योगदानको स्मरण गर्दै उनले आगामी दिनमा विकृति, विसङ्गति तथा भ्रष्टाचार विरुद्ध लड्न पार्टी निरन्तर सघाउने विश्वास पनि उनले व्यक्त गरे । आफूले भ्रष्टाचारीलाई जेल कोच्छ भन्ने आभास भएपछि भ्रष्टाचारीहरू एकगठ भएको भन्दै वर्तमान सरकारलाई बिचौलियाद्वारा निर्मित सरकारको संज्ञा दिए ।
कार्यक्रमलाई गा.पा. उपाध्यक्ष टापबहादुर श्रेष्ठ, वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री सालिकराम जमकट्टेल लगायतले सम्बोधन गरेका थिए । सोही साँझ चैलिङका स्थानीयले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »