सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

याम्बालिङ हाइड्रोपावरको खुल्यो आइपिओ

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गरेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रूपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये ७ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ७ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। 

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात्  २ करोड १० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। 

आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गते हुनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिनेछ। 

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

भर्खरै

सम्बन्धित खबर

Language »