काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत आज मतदान गर्ने कार्यक्रम थियो।
अधिवेशन भएको काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेदेखि मतदान हुने तय थियो।
दिउँसो ३ बजिसक्दा पनि मतदान सुरू हुन नसकेको प्रतिनिधिहरूले गुनासो गरेका छन्।
रास्वपाको बागमती अधिवेशन जेठ २६ गते हेटौंडामा उद्घाटन भएको थियो। विवादका कारण मतदान प्रक्रियामा पुगेपछि रोकिएकोमा शनिबार काठमाडौंमा गर्ने तय भएको थियो।
तर काठमाडौंमा पनि मतदान समयमै सुरू नभएपछि केही प्रतिनिधिहरू अधिवेशनस्थलबाट बाहिरिन थालेका छन्।
रास्वपाको बागमती प्रदेश सभापतिमा चार जना उम्मेदवार छन्।
निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।
रास्वपामा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाउने भनिएको छ । तर लामिछाने र अर्यालले अघोषित रूपमा प्यानलै बनाएर भित्र भित्रै प्रचार गरिरहेको एक प्रतिनिधिले बताए।
लामिछानेको प्यानलबाट महामन्त्री पदमा बदनकुमार भण्डारी र अर्यालको प्यानलमा मेनुका ठकुरी महामन्त्री पदका उम्मेदवार छन्।
उनीहरूले प्यानलै बनाएर भित्रभित्रै प्रचार गरे पनि निर्वाचन प्रक्रिया आरम्भ भएको छैन। ‘पुगेका प्रतिनिधिहरू पनि फर्किन थालेका छन्,’ एक प्रतिनिधिले भने।








