काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा र उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका अग्रणी व्यक्तित्व तथा संस्थाहरू एकै मञ्चमा सम्मानित भएका छन्। राजधानी काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न ‘१८औँ कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड–२०२६’ ले देशको आर्थिक तथा व्यावसायिक क्षेत्रमा उल्लेखनीय छाप छोड्ने २९ व्यक्ति तथा संस्थालाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरेको छ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित समारोहमा व्यवसाय, उद्योग, बैंकिङ, बीमा, ऊर्जा, स्वास्थ्य तथा पर्यटन क्षेत्रका अग्रणी हस्तीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमले निजी क्षेत्रको योगदानलाई उजागर गर्नुका साथै अर्थतन्त्र पुनरुत्थानका सम्भावनाबारे गम्भीर बहससमेत सिर्जना गर्यो।

यस वर्षको सबैभन्दा प्रतिष्ठित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ उद्योगी तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्र वीर मालाकार लाई प्रदान गरियो। राष्ट्र निर्माण र निजी क्षेत्रको नेतृत्वमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान अर्पण गरिएको हो।
कार्यक्रममा ‘कर्पोरेट बिजनेस लिडरसिप अवार्ड’ बाट उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ, नरेश लाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्ट सम्मानित भए।
त्यस्तै ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप अवार्ड’ अन्तर्गत नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीलाई ‘अटोमोटिभ लिडरसिप अवार्ड’ तथा इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीलाई ‘ग्रिन इनर्जी लिडरसिप अवार्ड’ प्रदान गरियो। साथै टङ्क प्रसाद पोखरेल, रघुनन्दन मारु र राजेन्द्र राउतलाई पनि उद्योग नेतृत्वका लागि सम्मानित गरिएको थियो।

बैंकिङ तथा वित्तीय क्षेत्रतर्फ नबिल बैंक ‘कर्पोरेट बैंक अफ द इयर’, गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर’, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ‘लाइफ इन्स्योरेन्स अफ द इयर’, शिखर इन्स्योरेन्स ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’, नबिल इन्भेष्टमेन्ट बैंकिङ ‘मर्चेन्ट बैंक अफ द इयर’ तथा आईसीएफसी फाइनान्स ‘फाइनान्स अफ द इयर’ घोषित भए।
कार्यक्रमको अर्को आकर्षण बनेको ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ अन्तर्गत १२ विधामा प्रदान गरिएको सम्मान थियो। अटोमोबाइल, फेसन, स्मार्टफोन, स्वास्थ्य, कृषि, पर्यटन, डेरी तथा फर्निचर उद्योगका उत्कृष्ट व्यवसायी र संस्थाहरूलाई विशेष सम्मान प्रदान गरियो। यस क्रममा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनकी निर्देशक अभिज्ञा मल्ल ‘कर्पोरेट वुमन अन्टरप्रेनर’ तथा रिगल फिटनेसका संस्थापक रोजल शाही ‘कर्पोरेट युथ अन्टरप्रेनर’ घोषित भए।
त्यसैगरी चर्चित फोटोग्राफर प्रदीप राज वन्त लाई ‘फोटो जर्नालिज्म एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो भने ह्याम्स अस्पताल, भिभो नेपाल, होलिडे ट्रिप नेपाल एण्ड टुर्स, सिन्धु पोल्ट्री, सोफा हब नेपाललगायत संस्थाहरूले समेत प्रतिष्ठित सम्मान हात पारे।

समारोहमा अर्थतन्त्रको वर्तमान अवस्था, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रले भोगिरहेका चुनौती, रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानका उपायबारे विशेष छलफल भएको थियो। कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सांसदहरू, अर्थशास्त्री, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि निजी क्षेत्रको उत्कृष्टता, नवप्रवर्तन र नेतृत्वलाई सम्मान गर्दै आएको छ। यस वर्षको समिटले पनि नेपालका ‘कर्पोरेट च्याम्पियन’हरूलाई राष्ट्रिय मञ्चमा उभ्याउँदै आर्थिक विकासको यात्रामा निजी क्षेत्रको भूमिकालाई थप उजागर गरेको छ।









