काठमाडौं । सिन्धुपाल्चोकका सांसद भरत प्रसाद पराजुली ले नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रहेको तातोपानी भन्सार लाई जिल्लाको आर्थिक विकासको मुख्य आधारका रूपमा उल्लेख गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले भूकम्पपछि हालसम्म पनि कर्मचारीहरू अस्थायी तथा जीर्ण संरचनाबाट सेवा सञ्चालन गर्न बाध्य रहेको बताउँदै आधुनिक भन्सार कार्यालय, क्वारेन्टिन तथा जाँच केन्द्रसहितको एकीकृत भवन निर्माण आवश्यक रहेको बताए।
तातोपानी नाकालाई वार्षिक अर्बौं रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइए पनि पूर्वाधार विकासमा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ। सांसद पराजुलीले अर्थ मन्त्रालयलाई यस विषयमा विशेष चासो दिई आवश्यक बजेट तथा योजना अघि बढाउन आग्रह गरेका छन्।
उनका अनुसार तातोपानी नाका व्यवस्थित र आधुनिक बनाउन सके राजस्व संकलनमा वृद्धि हुनुका साथै सिन्धुपाल्चोकको आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा स्थानीय व्यापार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।
नेपाल–चीन व्यापारको रणनीतिक केन्द्रका रूपमा रहेको तातोपानी नाकाको स्तरोन्नतिले राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।








