काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन्।
पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकमा बोल्दै सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।
‘पार्टीका साथीहरूको अधिकार कुण्ठित गरियो भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउँछ। एउटा घरमा हुने दुर्घटना वा समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाको मूल्य देशले निकै ठूलो चुकाउनुपर्छ,’ उनले भने।
त्यसकारण यो विषयमा आफूले कहिले पनि सम्झौता नगर्ने लामिछानेले बताए।
‘मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै कम्प्रमाइज गर्ने विषय होइन। मैले त्यसमा कहिले पनि कम्प्रमाइज नगर्नेबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रने प्रयास आफ्नो राजनीतिक जीवनमा पनि गरिरहने छु,’ उनले भने।
उनले पार्टीको महाधिवेशन अलि अगाडि नै गर्ने कोशिस भएको पनि बताए। तर पार्टी जीवनमा भएका घटनाक्रमहरूले यसलाई पर धकेल्दै ल्याएको उनले बताए।
सभापति लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न अनुरोध पनि गरे। त्यसबाट नै रास्वपा थप उचाइमा पुग्ने उनले बताए।
‘पार्टी आज जहाँ आएको छ। यहाँहरुको अनवरत साथ यहाहरुको अनवरत विश्वास र मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकाणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरुलाई अपिल गर्न चाहन्छु। स्वस्थ प्रतिस्पर्धाबाट हामी एउटा नया उचाइमा पुग्ने छौं,’ उनले भने।








