सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा सक्रिय नोर्चेल तामाङ सम्मानित

काठमाडौं। समाजसेवा, संस्कृति संरक्षण र समुदायप्रतिको सामाजिक उत्तरदायित्वमा सक्रिय रसुवाका समाजसेवी नोर्चेल तामाङ सम्मानित हुनुभएको छ।राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ लामो समयदेखि स्थानीय समुदायसँग नजिक रहेर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ। विशेषगरी तातोपानी क्षेत्रको संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको छ।

समुदायमा आइपर्ने समस्या र विपद्का समयमा दुःखी, पीडित तथा आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्दै मानवीय सेवामा अग्रसर तामाङले सामाजिक एकता र आपसी सहयोगको भावनालाई समेत प्रोत्साहन गर्दै आउनुभएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवामा उहाँको सक्रियताले समुदायमा सकारात्मक प्रभाव पारेको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कला, संगीत, संस्कृति, पर्यटन तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

तामाङलाई प्रदान गरिएको सम्मानले संस्कृति संरक्षण, सामाजिक सेवा र मानवीय सहयोगमा समर्पित व्यक्तित्वको योगदानको कदर गरेको छ। यस्ता सम्मानले स्थानीय तहमा रहेर समाज र संस्कृतिको संरक्षणमा निरन्तर योगदान गर्ने व्यक्तिहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो। संघका महासचिव विनोद ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहमा कला, संगीत, संस्कृति, पर्यटन तथा व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »