सिराज खान
नेपालगन्ज ,यही माघ ११ गते हुन गैरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको प्रचार प्रसार अहिले तिव्र रुपमा अगाडी बढेको छ ।

हरेक उम्मेदवारले निर्वाचनमा आफु विजयी हुने दावी गर्दै त्यसका विभिन्न आधारहरु समेत प्रस्तुत गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिंदै गर्दा विभिन्न तह र तप्काका मतदाता तथा समर्थकहरुले पनि आफुले रोजेको उम्मेदवारले जित्ने बताईरहेका छन् ।
उम्मेदवार र मतदाता तथा समर्थकहरुले आ आफ्नो दावी गरिरहेकै बेला हामीले पहिलो पटक सो निर्वाचनको ओपेनियन पोल गर्ने जमर्को गरेका छौं ।
सो क्रममा हामीले संघका ३ हजार बढी मतदाता मध्ये सैम्पलिंगको आधारमा करिब ५ सय मतदातालाई विभिन्न प्रश्न सोधेका थियौं ।
हामीले नगरका विभिन्न पकेट क्षेत्र र चोक चोकका मतदातासंग छुट्टा छुट्टै कुरा गरेका थियौं ।
संघको अध्यक्षमा कसलाई जिताउनु हुन्छ भनि सोधिएको मूल प्रश्नमा करिब ६० प्रतिशतले अब्दुल वाहीद मन्सुरी चुन्नालाई जिताउने बताएका थिए भने ३५ प्रतिशतले ललित रौनियारलाई जिताउने बताएका थिए ।
५ प्रतिशतले दुबै ठीक छैनन् भनेका थिए । ती मध्येका ३० प्रतिशत जतिले मात्रै प्यानलमा मतदान गर्ने जनाएका थिए ।
७० प्रतिशतले उम्मेदवार हेरेर मन परेकोलाई मतदान गर्ने बताएका थिए ।
दुबै उम्मेदवार ठीक छैनन् भन्नेहरुले यी दुबै मध्ये जसले जिते पनि संघको गरिमा कायम राख्न सक्नेमा शंका व्यक्त गरेका थिए ।
उनिहरुले अझ सक्षम र जुझारु नेतृत्वको आवश्यकता समेत औंल्याएका थिए । संघको निवर्तमान नेतृत्वको काम बारे सोधिएको प्रश्नमा ५० प्रतिशतले राम्रो भनेका थिए भने ४० प्रतिशतले कुनै ठोस काम गर्न नसकेको र १० प्रतिशतले यस बारेमा कुनै टिप्पणी नगर्ने धारणा राखेका थिए ।
( नोट– यो ओपेनियन पोल कसैलाई जिताउन र कसैलाई हराउन गरिएको होइन ।
मात्र मतदाताको रुझान थाहा पाउन र मनसाय बुझ्न गरिएको हो ।
तीन हजार मतदाता मध्ये ५ सय जनाले दिएको विचार निर्वाचनको शतप्रतिशत परिणाम भने होइन ।
तर, विभिन्न स्थानमा गरिएको सैम्पलिंगबाट समग्रमा देखिएको रुझानबाट देखिएको नितिजा भने सार्वजनिक गरिएको छ ।