सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टी-२० विश्वकप छनोटअघिको वाम अप खेलमा अमेरिकासँग नेपालको हार

काठमाडौं । महिला टी-२० विश्वकप छनोट वामप म्याचमा नेपालमाथि अमेरिकाले जित निकालेको छ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालमाथि अमेरिकाले ६ विकेटको जित निकाल्यो। यसअघि नेपालले आयरल्यान्डसँगको वाम अप खेलमा पनि ९९ रनको हार ब्यहोरेको थियो।

अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायो। 

नेपालका लागि विन्दु रावलले २७ रन, सोनु खड्काले २४ रन, कविता जोशीले २० रन, रोमा थापाले १९ रन र पूजा महतोले १७ रनको योगदान दिइन्। 

बलिङमा अमेरिकाकि ताराणुम चोपडाले ३ विकेट लिएकी थिइन् भने सैनवी कम्बलापल्लीले २ विकेट हात पारिन्।

जवाफमा लक्ष्य पछ्याउने क्रममा अमेरिका महिलाले १९.१ ओभरमा १३८ रन बनाएर ६ विकेटले जित हासिल गर्‍यो। अमेरिकाकी चेतना रेड्डीले अविजित ५६ रन (४६ बलमा ६ चौका) को उत्कृष्ट इनिङ खेलिन्। 

यसबाहेक इसानी वाघेलाले २० र ऋतु सिंहले अविजित १९ रन बनाइन्। नेपालबाट सोमु बिस्ट, रिया शर्मा र रुविना क्षेत्रीले समान १-१ विकेट लिए।

नेपालका दुई मैदानमा माघ ४ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ। इन्दू बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ। 

नेपाली टोली 
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान,  रुबीना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरि, मनीषा उपाध्याय।

टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछन्।  खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ। 

समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे  र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

समूह ए :  बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया, अमेरिका 
समूह बी : स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल

विश्वकप छनोटमा नेपालको खेल 
नेपाल भर्सेस थाइल्यान्ड – त्रिवि मैदान – माघ ४
नेपाल भर्सेस नेदरल्यान्ड्स -त्रिवि मैदान– माघ ८
नेपाल भर्सेस जिम्बावे – त्रिवि मैदान – माघ १०
नेपाल भर्सेस स्कटल्यान्ड – त्रिवि मैदान – माघ १२   

भर्खरै

सम्बन्धित खबर

Language »