– माधव घिमिरे ‘अटल’
ग्रामीण पर्यटन प्रवर्धन मञ्च, नेपालको आयोजना तथा अध्यक्ष हरिशरण थपलियाको नेतृत्वमा प्रथम उपाध्यक्ष मनहरी दाहाल, महासचिव अजिब भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, सह–कोषाध्यक्ष नारायण सोडारी तथा सदस्यहरू सुनिता अधिकारी न्यौपाने, प्रदीपकुमार तामाङ, माधव ढुङ्गाना रहेको भ्रमण टोलीले पूर्वी नेपालको पर्यटन प्रवर्धनका निम्ति धिमाल बस्तीलाई प्रचारप्रसारको लक्ष्य बनाएको छ ।
टोलीमा प्रमुख सल्लाहकार पर्यटनविज्ञ डा. आलोक प्रसाई, सल्लाहकार तथा अर्का पर्यटनविज्ञ डा. बीपी बडाल, सद्भावनादूत अशोक सिलवाल, नियात्राकार राजेन्द्रमान डङ्गोल, पूर्वअध्यक्ष चित्रबहादुर गुरुङ, टानका सदस्य अम्बिर गुरुङ, पर्यटन पत्रकार भूमराज तिवारी, पत्रकार राजकुमार सिलवाल, नेपाल पर्यटन बोर्डका प्रतिनिधि क्षितिज बस्नेत, रैथाने उत्पादन प्रतिनिधि शिवप्रसाद आचार्य, टानका पूर्वसदस्य ठाकुरप्रसाद सापकोटा लगायत २३ जनाको प्रतिनिधित्व रहेको थियो । असार २ गतेबाट ५ गतेसम्म विविध कार्यक्रमहरू सञ्चालित गरी समापन भएको सो प्रवर्धनात्मक यात्राको मूल केन्द्र थियो- बेलबारी, मोरङ ।खासगरी धिमाल सामुदायिक होमस्टे तथा जीवित सङ्ग्रहालयलाई
प्रवर्धन गर्ने ध्येयका साथ नगरपालिका सभाहलमा मंङ्गलवार अन्तरक्रिया तथा गन्तव्य परिचय कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डद्वारा मान्यता प्राप्त ३२ नमुना पर्यटकीय गाउँमध्येको एक बेलबारी नगरपालिका–१० स्थित मटिगाउँमा रहेको धिमाल सामुदायिक होमस्टे तथा जीवित सङ्ग्रहालय को परिचय तथा प्रवर्धनमा विशेष जोड दिइएको थियो । सो कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला, जनप्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकार, नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा ग्रामीण पर्यटन प्रवर्धन मञ्च, नेपालका प्रतिनिधिहरू सहित स्थानीय करिब चार दर्जन स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा धिमाल समुदायको मौलिक संस्कृति र पर्यटन सम्भावनाबारे व्यापक छलफल गरिएको थियो ।
मन्थनका सिलसिलामा धिमाल समुदायको सांस्कृतिक सम्पदा, परम्परागत खानपान, लोकनृत्य तथा जीवनपद्धतिले सांस्कृतिक पर्यटन विकासको राम्रो आधार प्रस्तुत गरिएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा धिमाल सामुदायिक होमस्टेका अध्यक्ष योगेन्द्र धिमालले धिमाल समुदायको विशिष्ट सांस्कृतिक सम्पदा तथा सामुदायिक पर्यटनको भूमिकाबारे प्रकाश पार्दै ‘हाम्रो होमस्टे केवल बसोवासको स्थान मात्र नभई एक जीवित सङ्ग्रहालय हो’ भन्ने दाबी गरे । उनले थपे- ‘यहाँ आगन्तुकहरूले धिमाल समुदायको वास्तविक जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न सक्छन् ।’ पर्यटनले स्थानीय समुदायलाई आर्थिक अवसर सिर्जना गर्नुका साथै मौलिक पहिचान संरक्षण गर्न मद्दत पुर्याउने विश्वास लिएको धिमालको कथन थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा पर्यटनलाई अगाडि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बेलबारीमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै धिमाल सामुदायिक होमस्टेजस्ता गन्तव्यहरूलेआन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे । साथै संस्कृति संरक्षण र स्थानीय रोजगारी सिर्जनाका पहलहरूलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबध्दता व्यक्त गरे ।
उपमेयर नितु थापा कोइरालाले विकासमा समुदायको सक्रिय सहभागिताको महत्त्वमाथि जोड दिँदै सामुदायिक पर्यटनले ग्रामीण अर्थतन्त्रलाई रूपान्तरण गर्ने राख्ने बताइन् । स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता, संस्कृति संरक्षण र अतिथि सत्कारको परम्पराले मटिगाउँलाई विशेष गन्तव्य बनाएको उनको कथन थियो ।
भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले स्थानीय समुदायले तयार गरेको विशिष्ट पर्यटन उत्पादनको प्रशंसा गर्दै धिमाल सामुदायिक होमस्टेले ग्रामीण पर्यटनको वास्तविक आत्मालाई प्रतिनिधित्व गरेको बताए । उनले यस्ता पहलहरूले सिङ्गो नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्नुका साथै पर्यटकलाई अर्थपूर्ण यात्रा अनुभव प्रदान गर्ने अवधारणा राखे ।
भिटोफ नेपालका पूर्वअध्यक्ष चित्र बहादुर गुरुङले स्थानीय सरकार, पर्यटन संस्था र समुदायबीचको सहकार्यले मात्र ग्रामीण पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले माटिगाउँ सांस्कृतिक पर्यटनको उत्कृष्ट नमुना गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरे । त्यसैगरी टानका सदस्य अम्बिर गुरुङले ग्रामीण पर्यटनलाई राष्ट्रिय पर्यटन सर्किटसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । गुरुङले आजका पर्यटकहरू वास्तविक अनुभवको खोजीमा रहेको दाबी गर्दै यस्ता सामुदायिक होमस्टेलाई राष्ट्रिय पर्यटन प्याकेज तथा प्रचार अभियानसँग जोड्न आवश्यक रहेको राय राखे ।
भिटोफ नेपालका सल्लाहकार डा. आलोक प्रसाईले दिगो पर्यटन अभ्यासको महत्त्वमाथि प्रकाश पार्दै दिगो पर्यटन भनेको संस्कृति संरक्षण, वातावरणीय सुरक्षा तथा स्थानीय समुदायसम्म आर्थिक लाभको सुनिश्चितता रहेको अभिमत राखे । धिमाल सामुदायिक होमस्टे यी तीनै उद्देश्य एकसाथ प्राप्त गर्ने उत्कृष्ट दृष्टान्त रहेको प्रसाईको प्रस्टोक्ति थियो ।
कार्यक्रममा सहभागीहरूले गन्तव्य प्रवर्धनलाई थप प्रभावकारी बनाउने उपाय, पर्यटन पूर्वाधार सुधार तथा पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने विषयमा समेत छलफल गरेका थिए । कार्यक्रमको अन्त्यमा धिमाल सामुदायिक होमस्टे र माटीगाउँ पूर्वी नेपालको विशिष्ट सांस्कृतिक तथा ग्रामीण पर्यटन गन्तव्यका रूपमा थप प्रवर्धन गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो । नगरपालिकाको उक्त कार्यक्रमको समापन पश्चात टोलीले कोशिकी रानीका रुपमा सुपरिचित भेडेटार, बहुसांस्कृतिक सहर धरानका स्थानीय प्रसिध्द मन्दिर दन्तकाली र बुढासुब्बा, आध्यात्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बराह क्षेत्र धामको दर्शन गरेको थियो ।








