सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्यान्सरलाई जित्न सकिन्छ तर सचेत रहनु पर्छ

काठमाडाैँ। क्यान्सर आफैमा भयावह रोग । हामी भन्छौं, क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ । तर, उदाहरणहरुले भन्छ, क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा कति छन्, कति ।

यद्यपि क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब यसको यथासिघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवनमा फर्कन सकिन्छ । तर, उपचारका लागि हामीले समुचित पहल गरिरहेका छौनौं । नतिजा, बर्षेनी १५ हजारले नेपालमा क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् । बार्षिक ४० हजार त नयाँ क्यान्सरका रोगी थपिने तथ्यांक छ ।

क्यान्सरबाट बच्ने प्राकृतिक उपाय हो, स्वस्थ्य जीवनशैली । नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउने । स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।

शारीरिक रुपमा सक्रिय रहने । दिनहुँ पसिना बगाउने । एक अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ । कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन ।

तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा खान हुँदैन । एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने । जस्तो कि, ग्रीन टी । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मूख्य मानिन्छ ।

सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सीमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक परावैजनी किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

तर, क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट बच्न सकिन्छ । अझ क्यान्सरको लक्षण थाहा पाउनसाथ उपचार गरियो भने, तुलनात्मक रुपमा खर्च पनि लाग्दैन । क्यान्सरसँग हामी किन भयाभित छौ भने, एक त यसको उपचार जटिल छ । कहिले काहिं असंभव पनि । साथै खर्चिलो पनि ।

क्यान्सरको लक्षण देखापर्नसाथ उपचार खोज्नुपर्छ । सही समयमा, सही ढंगले उपचार भएमा क्यान्सरमुक्त भइन्छ ।

भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा आधा दर्जन बढी अस्पतालमा क्यान्सरको उपचार गरिन्छ । वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति वाल अस्पताल, भक्तपुर क्यान्सर, धरानको वीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेजमा क्यान्सरको उपचार हुन्छ ।

तर, सचेत रहनुपर्छ

क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सरमुक्त जीवन बाँच्नु नै सर्बोत्तम हो ।

यसका लागि जान्नैपर्ने कुरा के हो भने, क्यान्सर कसरी लाग्छ ? क्यान्सर लाग्न नदिने कसरी ?

वास्तवमा क्यान्सर खराब जीवनशैलीले निम्त्याउने रोग हो । यो वंशानुगत रुपमा पनि आउन सक्छ । यद्यपी शरीरलाई क्यान्सर प्रतिरोधी बनाइयो भने, त्यसले केहि गर्न सक्दैन । भनौं, स्वस्थ्य जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार हो ।

अहिले वाह्य वातावरण पनि क्यान्सरको कारण बनेको छ । धुलो, धूँवा, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ ।

के हो क्यान्सर ?

क्यान्सर आफैमा गंभिर प्रकारको रोग हो । शरीरमा दुई सयभन्दा बढी आकारप्रकारका स–सना कोष तथा कोषिका हुन्छन्, ५० खर्ब जति । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर, खराब जीवनशैली र वाह्य वातावरणिय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छ ।

यी गिर्खामध्ये एकखाले हुन्छ, सामान्य अवस्थाका । जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ । यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन

अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो ।

किन लाग्छ क्यान्सर ?

माथि उल्लेख गरिएकै छ, क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन् । साथै वाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । जस्तो कि, वातावरणिय प्रदुषण । धुलो–ध्रूँवा, रसायन, विकिरिण आदि क्यान्सरको कारण बन्छ । अर्कोचाहि, वंशानुगत । तर, यस्तो जोखिम १० प्रतिशतमा मात्र हुने बताइन्छ ।

यी हुन् क्यान्सरका कारण

१. चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।

२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।

३. हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।

४. वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ ।

५. घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तैै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

कसरी थाहा पाउने ?

क्यान्सरको लक्षणलाई हामी सामान्य ठान्छौं, जतिबेलासम्म यसले जटिल रुप लिँदैन । जतिबेला जटिल रुप लिन्छ, त्यसबेला उपचार असंभव भइसकेको हुन्छ । त्यसैले क्यान्सरको लक्षण थाहा पाउनसाथ त्यसको निदान खोज्नुपर्छ । सामान्यत क्यान्सरको सुरुवाती लक्षण देखिने गर्छ ।

दिस पिसाबमा रगत

यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

अचानक तौल घट्नु

निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।

ज्वरो

लमो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ ।

थकान

कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

रक्तश्राव

मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

पिसाबमा समस्या

उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

क्यान्सरका प्रकार
क्यान्सरका रागका प्रकार यति नै छन् भनेर यकिनका साथ भन्न सकिदैन । तर पनि केही प्रचलित क्यान्सर रोगलाई हामीले औल्याउने कोशिश गरेका छौँ ।

१. पाठेघरको मुखको क्यान्सर

२. स्तन क्यान्सर

३. फोक्सोको क्यान्सर

४. ब्लड् क्यान्सर

५. बोन म्यारो क्यान्सर

६. घाँटीको क्यान्सर

७. मुखको क्यान्सर

८. कलेजोको क्यान्सर

९. डिम्बासयको क्यान्सर आदि

बिभिन्न स्राेतहरूकाे अाधारमा तयार पारिएकाे सामाग्री ।

भर्खरै

सम्बन्धित खबर

Language »