प्रहलाद विश्वकर्मा
नेपालगंज , भेरी अस्पताल नेपालगंजलाई नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्त्ररण गरेको छ ।
कोको–कोला र नेपाल रेडक्रसको साझेदारीमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको सेवामा २४औ घण्टा परिचालित हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ बुट र कबर ५० सेट, सेनिटाइजर २५० थानर्, कोलोरिन ५ लिटरको ५० जार, साबुन १ हजार ८, एन नाइनटी फाइप मास्क १०० थान गरी १ लाख ६४ हजार बराबरको सुरक्षा सामाग्री भेरी अस्पतालका मेडिकल सुपरिटेन्ड प्रकाश थापालाई नेरेसोका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र कोको–कोला का प्रतिनिधि सुमित दासले संयुक्त रुपमा हस्तान्त्ररण गर्नु भएको थियो ।
यसैगरी नेरेसो केन्द्रीय कार्यालयबाट बाँके शाखाको रक्तसंचार, एम्बुलेन्स र परिचालन हुने स्वयंसेवकका लागि सेनिटाइजर, मास्क, गाउन, कोलोरिन र बुट प्राप्त भएको छ ।
सो अवसरमा मेडिकल सुपरिटेन्ड प्रकाश थापाले नेपाल रेडक्रस सोसाइटी र अस्पतालको नङ्ग मासु जस्तै सम्बन्ध रहेको र यो सम्बन्ध निरन्तरता रही रहने कुरामा जोड दिँदै बाँके जिल्ला कोभिड–१९ को महामारी पूर्ण नियन्त्रण भएको हो कि होइन भन्ने यकिन गर्न नसक्ने अवस्था रहेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले कोभिड–१९ को संक्रमण नेपालमा देखा पर्न साथ नेपाल रेडक्रसले संक्रमणको रोकथामका लागि नेपाल सरकारसंग समन्वय गरी नियन्त्रणको प्रयास निरन्तर गरिरहेको कुरा उल्लेख गर्नु भयो ।
हस्तान्त्ररण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, कोको–कोलाका प्रतिनिधि सुमित दास, नेरेसो केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका राजु रावत लगायतको उपस्थिति रहेको थियो ।