सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज ऋषिपञ्‍चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौं। भाद्र शुक्ल पञ्‍चमीका दिनमा मनाइने ऋषिपञ्‍चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्‍ने, गाईको गोबर, माटो र खरानी लगाई स्‍नान गर्ने गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषिपञ्‍चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्‍चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्‍चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्‍वास रहेको छ ।

नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्‍नान गरी शुद्ध हुन्छिन् भन्‍ने विश्‍वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्‍नान गरेर पञ्‍चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्‍ने शास्त्रीय वचन रहेको पनि गौतमले बताए ।

यसरी स्‍नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्‍नि, वशिष्‍ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्‍चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्‍चमी भएकाले आजको पञ्‍चमीलाई ऋषिपञ्‍चमी भन्‍ने गरिएको हो ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्‍नान गर्न आग्रह गरिएको छ ।साझा पोस्टबाट साभार।

भर्खरै

सम्बन्धित खबर

Language »