सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिरोले घरखेत सबै बगायो : कुखुराको खोरमा आश्रय

निसीखोला। पहिरोले घरमा क्षति पुर्‍याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका छन्।

गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर बिकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका हुन्।

बिकको १४ वर्षीय छोरा वीरेन्द्र बिक र छ वर्षीय नाती प्रवेश बिकसमेत उक्त पहिरोमा पुरिएर मृत्यु भएको थियो भने बिकको ५२ वर्षीया श्रीमती डिलसरा विक घाइते भएका थिए । पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बसेका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर बिकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गरे।

“रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएको थिएँ। तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए। राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत परिएछ”, उनले भने, “अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु।” 

आर्थिक अवस्था नाजुक रहेको ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन्। “पोखरेलले घर नबन्दा सम्मका लागि कुखुराको खोरमा बस्नु भन्नुभएको छ”, उनले भने, “खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठिक छ।” गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था पनि छैन। गाउँघरमा मजदूरी गरेर ६ जना छोरोछोरीको लालनपालन गर्दै आएका बिक पहिरोले घरनै बगाएपछि ठूलो सङ्कटमा परेको छ। 

बिकको तीन छोराछोरीमध्ये जेठी छोरी विवाह भइसकेको छ भने जेठो छोराले पनि बिहे गरेर सुसुराली तिरै बस्दै आएका छन्। कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारिका लागि घर बाहिर छन्। पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनको दैनिक गुजारा चलाउन समेत समस्या भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »