झापा। धनकुटामा एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेकी छन् ।
महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन् ।
मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।
बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
राति ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
३० बर्षीय मृतक लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् ।
उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना मंगलबार राती करिब १० बजेको हो ।