काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्रका ३ ठाउँका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएको बोर्ड राखिएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मन्त्री पद्मा अर्यालको अगुवाईमा गएको टोलीले वडा ३१ (साबिक १०) को आलोकनगर, वडा १० को सहभागिता मार्ग, र वडा २९ (साविक ३२) अनामनगरमा रहेको जग्गामा बोर्ड गाडेको हो । बोर्डमा जग्गाको विवरण उल्लेख छ । त्यस क्रममा मन्त्रालयका सहसचिव, प्रदेश सभा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुसँगै नापी कार्यालयका अधिकारी सहभागी हुनुहुन्थ्यो ।
यसरी बोर्ड राखिएका ठाउँमध्ये आलोकनगरमा १० रोपनी ८ आना, सहयोगी मार्गमा ४ रोपनी र अनामनगरमा १४ आना २ पैसा जग्गा छ ।
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/02/86802372_197482138304420_7852893787117322240_n.jpg?fit=1024%2C683&ssl=1)
जग्गामा बोर्ड राखिसकेपछिको प्रतिक्रियामा मन्त्री अर्यालले — आफ्नो अर्काको, ठूलो सानो, पदमा भएको नभएको केही पनि नहेरी सार्वजनिक जग्गालाई सार्वजनिक उपयोगमा ल्याउने अभियान थालिएको बताउनुभयो । सार्वजनिक सम्पत्ति व्यक्तिले प्रयोग गर्न पाउँदैनन् । यसलाई सार्वजनिक उपयोगमा नै ल्याइनेछ, मन्त्री अर्यालको भनाइ थियो ।
२०२१ सालपछि धेरै जग्गामा अतिक्रमण बढ््यो । २०७२ सालको भूकम्पले स्थानीयमा चेतना बढायो । त्यसपछि अतिक्रमणमा परेको जग्गा जोगाउनमा चासो बढ््यो । प्रदेश सभा सदस्य गणेश दुलाल भन्नुहुन्छ — ‘यसका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त प्रयास हुन्छ । यसको उपयोग महानगरको नेतृत्वमा हुन्छ ।’ यो कामलाई महानगरको नेतृत्वमा अघि बढाउनुपर्छ, जग्गा संरक्षणका क्रममा सहभागी हुनुभएका प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले प्रतिक्रिया दिँदै भन्नुभयो — ‘सार्वजनिक जग्गा बचाउनै पर्छ, ढिला भयो तर राम्रो कामको थालनी भयो । यस क्षेत्रमा भएका अन्य जग्गाहरु खोजी गर्दै अतिक्रमणमुक्त बनाउने कामलाई तीब्रता दिनुपर्छ ।’
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/02/86757024_2340549109570418_1750372956086730752_n.jpg?fit=1024%2C683&ssl=1)
संरक्षण गरिएको जग्गामा हामी बहुउद्देश्यीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्छौं, बोर्ड राखिसकेपछिको वडा ३१ का अध्यक्ष नारायण भण्डारीले योजना सुनाउनुभयो । वडा १० मा संरक्षित जग्गामा यस अघि नै वडा कार्यालय बनाइएको छ भने बाँकी जग्गामा पार्क बनाउने वडाको योजना छ । वडाका कार्यवाहक अध्यक्ष सतिस तण्डुकारले बताउनुभयो । यता वडा २९ ले अनामनगरमा सार्वजनिक शौचालयसहितको पार्क बनाउने योजना बनाएको वडाध्यक्ष कुश ढकालको भनाइ छ ।