सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लामो रुट प्रयोग गरेर महँगो शुल्क उठाएको भन्दै पठाओको आलोचना

काठमाडौं । नियमित रुटको सट्टा लामो रुट प्रयोग गरेर ग्राहकसँग महँगो शुल्क उठाएको भन्दै सामाजिक सञ्जालमा पठाओको आलोचना भइरहेको छ । केही प्रयोगकर्ताले आफूले नियमित हिंड्ने गरेको रुटमा पनि पठाओले बढी भाडा लिएको तथ्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पठाओकाे आलोचना भएको हो ।

पठाओले‍ यात्राको दुरी अनुसार शुल्क लिँदै आएको छ । छोटो दुरीको विकल्प हुँदाहुँदै पनि पठाओले लामो रुट राखेर बढी शुल्क लिएको आरोप प्रयोगकर्ताले लगाएका छन् ।

‘पठाओले नियोजित रुपमा मोनोपोली अभ्यास गर्न थाले झैँ लाग्छ । यूएन पार्क पारीबाट पाटन क्याम्पस छेउ पुग्न थापाथलीको रुट, उहीँ ठाउँबाट थापाथली पुग्न चैँ फेरि बुद्धनगर बबरमहलको रुट ?,’ पठाओ प्रयोग गर्दा आफूले भोगेकाे अनुभवबारे सरोज केसीले सेप्टेम्बर १८ मा ट्वीट गरेका छन् । उनको ट्वीटमा रिप्लाई गर्दै पठाओ नेपालले लेखेको छ, ‘ट्राफिक जाम र अन्य बाह्य कारकहरूबाट बच्न हामी गुगल म्याप इन्टरफेसको प्रयोग गर्छौँ । तर हजुरले राइडरलाई भन्नु भएर छोटो मार्गको उपयोग गर्नसक्नुहुन्छ । किनकि पठाओको भाडा प्रणाली यात्राको दूरी अनुसार हुन्छ ।’

यसैगरी, केदार शर्माले आफ्नो ट्वीटमा पठाओलाई उल्लेख गर्दै व्यङ्ग्य गरेका छन्, ‘घट्टेकुलोबाट बागदरबार जाने रुट छोटो भएन र ? थापाथलीबाट त्रिपुरेश्वरसम्म नगएर जावलाखेल हुँदै, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुँदै लगेर ७०० डाँडे पनि भइहाल्छ नि !’ पठाओको प्रतिस्पर्धी कम्पनी टूटलका प्रमुख कार्यकारी निर्देशक शिक्षित भट्टलाई मेन्सन गर्दै शर्माले ट्वीटमा भनेका छन्, ‘ हामीलाई पठाओको असल प्रतिष्पर्धा चाहियो है !’ शर्माकै पोस्टमा रिप्लाई गर्दै पूर्ण भण्डारीले लेखेका छन्, ‘यात्रुले चाहेको रुट परिवर्तन गर्न पाउने विकल्प खोई ? मनपरी भाडा लिएको छ एकै लोकेसनबाट अर्को उही लोकेसनमा जाँदा ३५ रुपैयाँको फरक हुन्छ ?

मैतिदेवीबाट बिजुली बजार जादा पुरानो बानेश्वर, नयाँ बानेश्वर हुँदै जाने रुट किन ? जब कि खोलाको बाटो सरासरी पुगिन्छ ? लुट्नुको सिमा हुन्छ नि ?’ यस विषयमा पठाओले भने गुगल म्याप इन्टरफेसको प्रयोग गर्ने हुनाले शुल्क पनि सोही अनुसार उठ्ने बताएको छ । ‘हामी आफैँले रुट तय गर्ने होइन, हामीले गुगल म्याप प्रयोग गर्ने हो । यस्तोमा गुगलले देखाएको रुटको आधारमा नै पैसा तय हुन्छ,’ पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । गुगलले ट्राफिक जाम हुदाँ खुला रुटको विकल्प दिन्छ भने कहिलेकाँही छोटो रुटको लागि वान-वेको रुट पनि देखाइरहेको हुन्छ ।

यसैले रुट लामो गराएर पठाओले धेरै भाडा लियो भन्ने कुरा आरोप मात्र भएको उनको भनाई छ । त्यति मात्र होइन बजारमा कुनै नयाँ राइड शेयरिङ कम्पनी आउन लागेको कारण आफ्नो कम्पनीलाई बदनाम गराउनको लागि यस्तो अफवाह फैलाएको पनि हुनसक्ने उनले बताए ।

‘यो भन्दा अगाडि पनि नयाँ कम्पनीहरू बजारमा आउन लाग्दा पठाओलाई विभिन्न आरोप लगाइएको थियो । तर हामीले भाडाको कुरामा रुट परिवर्तन गरेर बढी चार्ज लिएको भने होइन,’ उनले भने लकडाउन पछि भने पेट्रोलको भाउ बढेको कारण त्यसलाई समायोजन गर्न कम्पनीले प्रति किलोमिटर एक रुपैयाँ भाडा बढाएको र त्यसयता अहिलेसम्म भाडामा कुनै परिवर्तन नगरेको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »