सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सक्रिय बन्दै नेपालगञ्ज उप-महानगरपालिकाको न्यायिक समिति, एउटै इजलासबाट पाँच उजुरीको सुनुवाई

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सक्रिय बनेको छ । विभिन्न विषयसंग सम्बन्धित समस्याहरुको समाधान गरी पाउँ भनी न्याय निरुपणका लागि परेका निवेदनहरु उपर कारवाही शुरु गरेर न्यायिक समितिले सक्रियता बढाएको हो ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावबाट नगर उपप्रमुख निर्वाचित भएर आएका कमरुद्दिन राईले न्यायिक समितिलाई सक्रिय ढंगले क्रियाशील बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले न्यायिक समितिमा परेका उजुरीहरु उपर नियमित इजलाश बसेर समाधानको खोजी गरिने बताए । प्रत्येक शुक्रबार इजालाश बसेर न्याय निरुपण गरिने राईको भनाई छ ।

उनी निर्वाचित भएर आएपछि पहिलोपटक गत शुक्रबार इजलास बसेर पाँच वटा उजुरी उपर आवश्यक कारवाही अगाडि बढाएको कानुन अधिकृत माया शर्माले बताइन् । उनका अनुसार जग्गा अतिक्रमण, सार्वजनिक ठाउँमा संरचना निर्माण, पारिश्रमिक नपाएको लगायतका विषयमा न्यायिक समितिले विभिन्न निर्णय गरेको छ ।


छोराछोरीको सहमति विना मंग्नी भएर विवाह रद्द भएपछि सामानको क्षतिपूर्ति दिलाई पाउँ भनी परेको उजुरी उपर न्यायिक समितिले छलफल गरी उक्त सामान बराबरको नगद रुपैयाँ उपलब्ध गराउन भनेको छ । नेपालगञ्ज १९ का पुष्कर कुमार यादवले नेपालगञ्ज १३ का जयराम यादव विरुद्ध उजुरी दर्ता गराएका थिए । यस्तै नेपालगञ्ज २ का देवेन्द्र शर्माले नेपालगञ्ज २ कै लोकेन्द्र अर्यालले बनाइरहेको संरचना विरुद्ध निवेदन दिएपछि न्यायिक समितिले अमिनबाट नापजाँच गरी आगामी शुक्रबारको इजलाशमा प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।
नेपालगञ्ज १८ का लोकेन्द्र बहादुर चन्दले दुर्गा बहादुर बहादर थापा लगायतले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भन्दै उजुरी दिएपछि सार्वजनिक जग्गा अतिक्रमण तत्काल हटाउने सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि नगर प्रहरीलाई आदेश दिइएको छ । यसैगरी नेपालगञ्ज १३ का फरिद कबडियाले पारिश्रमिक ज्याला दिलाई पाउँ भनी नेपालगञ्ज ९ का विजयविक्रम शाहका विरुद्ध दिएको उजुरीमा सुनुवाई गर्दै आगामी शुक्रबार दुबै पक्षलाई इजलासमा झिकाउन आदेश दिएको छ ।
नेपालगञ्ज ५ का तरतिल खातुनले आइतेलाल थापा लगायतले आफ्नो जग्गा च्यापी अतिक्रमण गरेको उजुरी न्यायिक समितिमा परेकोमा शुक्रबारको इजलाशले अमिनबाट नापजाँच गरी प्रतिबेदन पेश गर्न आदेश दिएको कानुन अधिकृत शर्माले जानकारी दिइन् ।


यसअघि अघिल्लो शुक्रबार मदरसामा पढाउने एक शिक्षिकालाई जागिरबाट निकालिदिएको विषयमा परेको उजुरी उपर पनि सुनुवाई भई आवश्यक कारवाही अगाडि बढाइएको थियो । मदरसाकी शिक्षक सबिला बेगम धुनियाँले मदरसाका अध्यक्ष एवम् प्रधानाध्यापक निजामुद्दिन दर्जी विरुद्ध उजुरी दिएपछि न्यायिक समितिले आवश्यक कारवाही प्रक्रियाका लागि शिक्षा महाशाखामा लेखी पठाएको थियो ।

अहिले शिक्षकलाई काममा फिर्ता बोलाई आदेश कार्यान्वयनको चरणमा रहेको शर्माले बताइन् । न्यायिक समितिमा उप्रमुख राई संयोजक तथा राजकुमार साहु र बसन्त कुमार कनोजिया सदस्य छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »