सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनीमा मन्त्री सङ्ख्या ११, मन्त्रालय सङ्ख्या १० पुग्यो

नेपालगन्ज, लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिरलाई सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । जसपा सरकारमा सहभागी भएपछि लुम्बिनीमा मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।

मन्त्री अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएको जसपा माघ २८ गते मन्त्रिपरिषद् विस्तार हुँदा सरकारमा सहभागी थिएन ।

अहिरलाई आइतबार मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गर्नुभएको थियो । एक साता अघिमात्रै कृषिमन्त्री बन्नुभएका नेकपा ९एमाले० का तुलसीराम शर्मालाई भने मुख्यमन्त्री कार्यालय हेर्नेगरी विना विभागीय मन्त्री तोकिएको छ ।

मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बन्नुभएकी कृष्णा केसीले अहिलेसम्म विभागीय मन्त्रीको पदबहाली नगरेकाले उहाँको जिम्मामा परेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि खानेपानी, ग्रामीण तथा सहकारी मन्त्री चेत नारायण आचार्यले सम्हाल्नेगरी तोक्नुभएको छ ।

मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिना विभागीय मन्त्रीको शपथ लिनुभएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । अब लुम्बिनी प्रदेशमा मन्त्रालयको सङ्ख्या १० कायमै रहे पनि मन्त्रीको सङ्ख्या भने ११ पुगेको छ । अब सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट तीन, जनमत, राप्रपा र जसपाबाट एक–एक मन्त्रीको सहभागिता छ ।

भर्खरै

सम्बन्धित खबर

Language »