नेपालगन्ज, राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेले नेपालगन्जको बजारलाई राती १२ बजेसम्म खुला गर्नुपर्ने माग गरेको छ । संगठनका अध्यक्ष नन्दलाल वैश्य, सचिव मदनराज शर्मालगायतले नेपालगन्जको व्यापार, व्यवसायलाई बढवा दिन राती १२ बजेसम्म बजार खुला गर्न माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएको हो ।

अध्यक्ष वैश्य बेलुका ५ बजेसम्म आफ्नै काममा मानिसहरु ब्यस्थ हुने भएकाले अधिकांश ग्राहकहरु ६ बजेपछिमात्रै बजारमा देखा पर्ने बताउँदै नेपालगन्जको बजार रातीसम्म खुल्नु पर्ने बताए । उनले ९ बजेभित्र बजार बन्द गर्ने निर्देशनले नेपालगन्ज बजारलाई ठूलो आर्थिक संकटको सामना गरिरहेको बताए ।

संगठनले बुझाएको ज्ञापन पत्रमा ‘सरकारले प्रत्येक जीवन उपयोगी वस्तुमाथि अधिक कर प्रणालीले सीमाको बजारदेखि प्रतिस्पर्धामा धेरै पछाडी रहेके हुँदा नेपालगन्जका व्यापारीहरु नराम्रो तरिकाले आर्थिक शिकार हुन बाध्य छन्’ उल्लेख गरिएको छ ।
संगठनले अतिरिक्त प्रहरी प्रशासनको अस्पष्ट एवम् अकारण रुपमा ८/९ बजे रातीसम्म मात्रै बजार खुला रहने निर्णयले साना, मझौंला साथै ऋण लिएर व्यापार गरिरहेका व्यापारीहरु मर्कामा परेको भन्दै व्यापार, व्यवसायबाट पलायन हुँदै गएको जनाएको छ ।

साथै संगठनले नेपालगन्जका व्यापार, व्यवसायीको आर्थिक उत्थानको जिम्मेवारी राज्यको हो भन्दै पत्रमा ‘राज्यले कसरी व्यापारीको लागि अनुकुल वातावरण हर सम्मत तरिकाले गर्ने भन्ने हो । जसबाट प्रत्येक शहरको यथोचित आर्थिक प्रगतिबाट व्यक्ति, परिवार र समाज तथा समर्ग राष्ट्रको आर्थिक उन्नति होस्’ उल्लेख गरिएको छ ।